कार्यसम्पादन मूल्याङ्कनमा स्याङ्जा उत्कृष्ट चारमा
भाद्र २५, भीरकोट खबर डेस्क,
गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारी बीच प्रत्येक आर्थिक वर्ष हुने कार्य सम्पादन सम्झौताको कार्यान्वयन गर्ने क्रममा आ.व. २०७७/७८ मा स्याङ्जा जिल्लाले उत्कृष्ट चौंथो स्थान हासिल गरेको छ । गृह मन्त्रालयले ६ वटा विषयगत क्षेत्रहरू शान्ती सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागू औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय/सदाचार र आर्थिक सुशासनसँग सम्बन्धित रही देशभरिका जिल्ला प्रशासन कार्यालयहरूको समग्र मापन गरी कार्यसम्पादन मूल्यांकन तथा वार्षिक नतिजा प्रकाशन गर्ने गर्दछ । गृह मन्त्रालयले प्रकाशन गरेको २०७७/७८ को नतिजा अनुसार झापा, अर्घाखाँची र पूर्वी रूकुम अति उत्कृष्ट कार्यसम्पादन सहित प्रथम भएका छ्न् । यसैगरी ललितपुर र पश्चिम रूकुम उत्कृष्ट कार्य सम्पादन सहित द्वितीय, गुल्मी तृतीय र स्याङ्जा चौंथो भएका छ्न् । स्याङ्जा सहित १४ जिल्लाहरूले उत्कृष्ट स्थान हासिल गरेका छ्न् । गृह मन्त्रालयका अनुसार उत्तम, मध्यम र न्यून कार्यसम्पादन भएका जिल्लाहरू क्रमश: १८ ,२१ र २१ रहेका छ्न् । वि.सं.२०७५ सालदेखी गृहमन्त्रालयका सचिब र प्रमुख जिल्ला अधिकारीहरूबिच कार्यसम्पादन सम्झौता गरी त्यसको नतिजा वर्षैपिच्छे प्रकाशन गरिन्छ । नतिजाका आधारमा अति उत्कृष्ट र उत्कृष्ट कार्यसम्पादन भएका जिल्लाहरूलाई प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सम्मान गरिने गृह मन्त्रालयले जनाएको छ ।