काङ्ग्रेसले टुङ्ग्यायो स्याङ्जाका ६ गाउँपालिकाका प्रमुखः समावेशी भएको दाबी
वैशाख ११
स्याङ्जा काङ्ग्रेसले ६ वटा गाउँपालिका प्रमुखकै उम्मेदवार तय गरेको छ । काङ्ग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्सालका अनुसार काङ्ग्रेसले आँधीखोला गाउँपालिकाबाट प्रेम पौडेल, फेदीखोलाबाट लक्ष्मीप्रसाद बराल, हरिनासबाट टोपबहादुर भुजेल, अर्जुन चौपारीबाट प्रकाश तिवारी, काली गण्डकीबाट माया राना र बिरुवाबाट डिआर पोख्रेललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
महिलालाई उपप्रमुखमात्र दिने प्रवृत्तिको अन्त्य गर्दै महिलाको यथोचित सम्मानस्वरुप कालीगण्डकी प्रमुखमा माया रानालाई अध्यक्षको उम्मेदवार बनाइएको काङ्ग्रेस स्याङ्जाका सभापति राजु थापाले बताउनुभयो । त्यस्तै उहाँका अनुसार जनजाति तथा पिछडा वर्गको प्रतिनिधित्व प्रमुख पदमै हुनुपर्छ भन्ने मान्यतालाई स्याङ्जा काङ्ग्रेसले आत्मसात गर्दै हरिनाशबाट टोपा भुजेललाई अध्यक्षको उम्मेदवार चयन गरिएको हो ।
त्यस्तै फेदीखोलाबाट भर्खरै काङ्ग्रेसमा प्रवेश गरेका तत्कालीन एमालेका प्रभावशाली मानिने लक्ष्मीप्रसाद बराललाई अध्यक्षको उम्मेदवार बनाएर काङ्ग्रेस स्याङ्जाले काङ्ग्रेसमा नयाँ पुरानो भन्ने कुनै विभेद नरहेको देखाउन चाहेको पनि थापाले बताउनुभयो । काङ्ग्रेसले नेबिसङ्घको केन्द्रीय उपाध्यक्ष समेत भइसकेका पुराना नेता प्रेम पौडेललाई आँधीखोलाको नेतृत्व दिएको छ भने यता अर्जुनचौपारीबाट ३२ वर्षीय युवा उद्यमी प्रकाश तिवारीलाई अध्यक्षको जिम्मा लगाएर नयाँ र पुरानो पुस्ता सबैलाई समेट्ने प्रयत्न गरेको प्रवक्ता लम्सालले बताउनुभयो ।
आँधीखोला, फेदीखोला, हरिनास, बिरुवा, कालीगण्डकी गाउँपालिकाको उपाध्यक्ष सहित अन्य पदहरु गठबन्धन साझेदार दललाई दिने निर्णय गरिएको प्रवक्ता लम्सालले बताउनुभयो ।
श्रोत: खबर भण्डार