स्याङ्जामा प्राङ्गारिक कृषि सम्बन्धी अन्तरक्रिया

असार ०४, २०७९


स्याङ्जा, ४ असार
युवराज पौडेल

स्याङ्जाको सदरमुकाम पुतलीबजारमा प्राङ्गारिक कृषिबारे स्थानीय जनप्रतिनिधि र सरोकारवालाको क्षमता बढाई स्थानीय तहबाटै दिगो कृषिको विकासका लागि  १ दिने अन्तर्क्रिया गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।

आपसी सहयोग केन्द्र स्याङ्जा नेपालले पुतलीबजारमा आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले हाम्रो विगतको नियमित पेशा स्वस्थ कृषि उपज उत्पादनलाई अहिले जथाभावी रासायनिक मल र बिषादीले दिनानुदिन बिगारहेको बताउनुभयो । उहाँले यस्तो अवस्थामा यस्ता छलफल कार्यक्रमहरुले स्थानीय सरकारलाई घच्घच्याउने बताउनुभयो ।

यसै क्रममा आपसी सहयोग केन्द्र स्याङ्जा नेपालका हरिप्रसाद ढकालले स्याङ्जामा प्राङ्गारिक कृषि उपलब्धि, चुनौती र सिकाई, कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमालले प्राङ्गारिक कृषि बाली उत्पादन के ? किन ? र कसरी ?, द बजार पोखराका तुलसी गिरीले प्राङ्गारिक उत्पादनको संभावना र प्राङ्गारिक प्रमाणिकरणमा पिजिएस साथै कृषि बजारलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम बारे डेनमार्कका कृषि अर्थ बिज्ञ डा. पाउल राय क्लेडलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्माचार्य, पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्याल, स्याङ्जा पिजिएसका संयोजक छायाँराम खनाल, पत्रकार आरसी बराल लगायतले आ-आफ्ना भनाइ, जिज्ञासा एवं सुझावहरु दिनुभएको थियो । कार्यक्रममा स्याङ्जा जिल्लामा प्राङ्गारिक उत्पादन, प्रशोधन, प्रमाणीकरण र बजारीकरणको क्षेत्रमा भएको प्रगतिका बारेमा चर्चा गरिएको थियो ।



त्रिकोण डेनमार्कको सहयोगमा  स्याङ्जामा सञ्चालन भैरहेको प्राङ्गारिक कृषि उन्मुख कृषि बाली प्रवर्धन आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित उक्त गोष्ठी आस्क नेपाल स्याङ्जाका अध्यक्ष रुकुमदत्त शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको स्वागत आस्क नेपाल काभ्रे शाखाका कार्यक्रम व्यवस्थापक प्रह्लाद प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।

कार्यक्रमको औचित्य र त्रिकोण डेनमार्कको नेपालमा सहयोगबारे त्रिकोण डेनमार्कका नेपाल संयोजक रबिन बोगटीले प्रकाश पार्नुभएको उक्त कार्यक्रमको सञ्चालन आस्क नेपाल स्याङ्जाका कार्यक्रम प्रमुख हरीप्रसाद ढकालले गर्नुभएको थियो भने स्याङ्जा जिल्लाका बिभिन्न पालिकाका प्रमुख उपप्रमुख एवं कर्मचारी, सरोकारवाला कार्यालयका प्रमुख एवं प्रतिनिधि, स्थानीय सहकारीकर्मी, विद्यालयका शिक्षक विद्यार्थी लगायत करिब ७० जनाको सहभागिता रहेको थियो ।