लापसे गरेर सवारी चलाउने ६ चालक पक्राउ

जेठ २२, २०८१     स्मार्ट संवाददाता


स्याङ्जामा लागू पदार्थ सेवन गरि सवारी चलाउने ६ जना चालक पक्राउ परेका छन्।  सडक दुर्घटना न्यूनीकरण एवं सार्वजनिक यातायातलाई थप सुरक्षित ,मर्‍यादित र भरपर्दो बनाउने उद्धेश्यले स्याङ्जा प्रहरीले   सिद्धार्थ राजमार्गमा चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन्।

जेठ २१ गते सोमबार जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरी कार्यालय समेतको संयुक्त टोलीले जिल्लाको  पुतलीबजार नगरपालिका नौडाँडामा १८ जना चालकहरूको लापसे जाँच गरेको थियो।   सवारी साधन चालकहरूको Drug of Abuse Test Kit द्धारा लागूऔषध सेवन गरे नगरेको चेकजाँच गर्दा   ६ जना चालकहरूले अवैध लागूऔषध  सेवन गरी सवारी साधन चलाएको प्रमाणित भएको थियो।

लागू औषध सेवन गरि सवारी चलाएका चालकहरूलाई  प्रहरी नियन्त्रणमा लिई जेठ २२ , मंगलबार गते “सार्वजनिक हित र नैतिकता विरूद्धको कसूरमा” मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए।

पक्राउ पर्नेहरूमा  पुतलीबजार नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३८ का  सार्वजनिक बस चालक  किरण बहादुर हमाल,   कालिगण्डकी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३५ को टिप्पर चालक गुमन बहादुर दर्लामी , पुतलीबजार नगरपालिका वडा नं. ३ बस्ने बर्ष २७ का सार्वजनिक अटो चालक अमन अली मिया ,  पुतलीबजार नगरपालिका वडा नं. ७ बस्ने बर्ष २९ को सार्वजनिक अटो चालक दिलिप सिंह ठकुरी,  पुतलीबजार नगरपालिका वडा नं. १ बस्ने बर्ष ४२ को राम श्रेष्ठ, पुतलीबजार नगरपालिका वडा नं. ७ बस्ने बर्ष ३८ को सार्वजनिक जिप चालक मंगल बहादुर दर्जी रहेका छन्।