भीरकोटका स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

भदौ २५, २०७८


भदौ २५, भीरकोट खबर डेस्क,

भीरकोट नगरपालिका मातहतका स्वास्थ्य संस्थाहरूको आर्थिक वर्ष २०७७/७८को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।भीरकोट नगरप्रमुख छायाराम खनालको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा उपमेयर सिमा के.सी कर्माचार्य, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल ,विषयगत शाखा प्रमुखहरू भीरकोटका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा कार्यरत प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता थियो।

कार्यक्रममा स्वास्थ्य संस्थाहरूले गत आर्थिक वर्षभरीमा गरेका स्वास्थ्य सेवा प्रवाहका गतिविधिहरू तथा सेवा प्रवाह गर्दा भोगेका कठिनाइहरूको बारेमा बृहत् समीक्षा गरिएको थियो। स्वास्थ्य शाखा प्रमुख नारायण बन्धु अर्यालका अनुसार भीरकोटमा गत आर्थिक वर्षमा २२,२९४ जनाले भीरकोटका स्वास्थ्य संस्थाहरूबाट निशुल्क सेवा लिएका थिए। स्वास्थ्य संस्थाहरूमा ग्याट्रीक, श्वासप्रश्वास, टाइफाइड, ज्वरो लगायतका समस्या भएका बिरामीहरू बढि आउने गरेका छ्न्।

नेपाल सरकारले तोकेबमोजिम ३५ प्रकारका औषधिहरू निशुल्क प्रदान गर्दै आएका स्वास्थ्य संस्थाहरूले जेष्ठ नागरिकहरूलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्दै आएका छ्न्। वडा नं ६ स्थित खिलुङ्देउराली स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा समेत छ भने सबै स्वास्थ्य संस्थाहरूले गर्भवती महिलाहरूलाई चेकजांच सहित गुणस्तरीय अण्डा नियमित वितरण गर्दछ्न्। महिला स्वास्थ्य स्वयंसेवकीका कारण सेवा प्रवाह अब्बल बनेको भन्दै नगरपालिकाले उनीहरूलाई यातायात र संचार खर्च बापत मासिक रू दुइ हजार दिँदै आएको छ।



कार्यक्रममा सहभागी कर्मचारीका अनुसार सबै स्वास्थ्य संस्थाहरूमा आजसम्म औषधि अभावको समस्या छैन। तथापी उनीहरूले भौतिक पूर्वाधार, कर्मचारी, फर्निचर र कम्प्युटर अभाव लगायतका समस्या झेल्नुपरेको छ।

कार्यक्रममा बोल्दै नगर प्रमुख खनालले सेवा प्रवाहलाई नियमित र गुणस्तरीय बनाउन एवं नगरको स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन नगरले कुनै कन्जुस्याइँ नगर्ने बताउनुभयो। सबै स्वास्थ्य संस्थाका संचालक समितिहरूलाई आफ्नो जिम्मेवारीबोध गर्दै स्वास्थ्य संस्थाहरूको राम्रो व्यवस्थापन गर्न र कुनै समस्या आइपरे समयमै जानकारी दिन निर्देशन समेत दिनुभएको थियो।

उहाँले शारीरिक असमक्षता वा उमेरका कारणले खोप केन्द्र आउन नसकेका नागरिकहरूलाई घरदैलोमा नै गइ कोरोना विरूद्धको खोप दिन समेत निर्देशन दिनुभएको छ।

भीरकोटमा १ आयुर्वेदिक औषधालय,१ नगर अस्पताल ,६ वटा स्वास्थ्यचौकी, ४ वटा आधारभूत स्वास्थ्य केन्द्र, १८ गाउँघर क्लिनिक र २३ वटा खोप केन्द्रहरूले जनतालाई निशुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आएका छ्न्। ५२ जना महिला स्वास्थ्य स्वयंसेवकीहरूलाई परिचालन गरि स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी र गुणस्तरीय बनाउने प्रयास गरिएको छ। नगर अस्पतालमा दन्त चिकित्सा सेवा थप गर्ने योजनामा रहेको नगरपालिकाले कालिका सामुदायिक अस्पताललाई नगर अस्पताल बनाएको करिब दुई महिनाको अवधिमा नै ८३२ सेवाग्राहीहरूले सेवा लिएको जानकारी प्राप्त भएको छ। हाल नगर अस्पतालमा २४ घण्टा आकस्मिक सेवा,भीडियो एक्सरे तथा एक्सरे सेवा,फार्मेसी सेवा, प्रयोगशाला सेवा, इसिजी सेवा,कोरोना परिक्षण सेवा तथा बिरामी भर्ना सेवा उपलब्ध छ। नगर अस्पतालमा आँखा उपचार सेवा पनि थप गर्न सके आँखा सम्बन्धि सामान्य स्वास्थ्य उपचारका लागि वालिङ्,स्याङ्जा वा पोखरा जानुपर्ने बाध्यताको पनि अन्त्य हुने देखिन्छ।