सिरुबारी होमस्टेका २५ वर्ष : गाउँ पर्यटनको गौरवपूर्ण इतिहास

फागुन ०४, २०७९


स्याङजा । नेपालको पहिलो होमस्टे सिरुबारी सामुदायिक होमस्टेले स्थापनाकालदेखिको आफ्नो २५ वर्षे यात्रा तय पुरा गर्दै रजत महोत्सवको सङ्घारमा उभिएको छ । यही फागुन ५ र ६ गते नेपाल सरकारका पर्यटन नागरिक तथा उड्ययन मन्त्री सुदन किराँतीले सिरुबारी सामुदायिक होमस्टेको रजत महोत्सवको समुद्घाटन गर्दै हुनुहुन्छ ।

यो होमस्टेको विधिवत स्थापना २०५४ कार्तिक २३ मा भएको थियो तापनि होमस्टेका लागि आवश्यक मानसिक र भौतिक तयारी अगाडिदेखि नै भएको थियो । सिरुबारी तत्कालीन पञ्चमूल गा.वि.स. वडा नं ४ अन्तर्गत पर्ने गुजुमुज्ज परेको गुरुङ बस्ती हो । यहाँका अधिकांश मानिसहरु लाहुरे हुने प्रचलन छ । यसै क्रममा भारतीय सेनाको लाहुरे हुन पुग्नुभएको थियो, पञ्चमूल सिरुबारी निवासी रुद्रमान गुरुङ । भारतीय सेनामा भर्ती भएपछि उहाँले आफ्नो कुशलता र क्षमता प्रदर्शन गरी सबैलाई प्रभावित पार्नुभएको थियो । १८ वर्षको उमेरमा उहाँले भारतीय सेनाको जागिर खानुभयो । ३२ वर्षसम्म इमानदारीका साथ जागिर खानुभयो ।

विज्ञापन

उहाँले भारतीय सेनामा जागिर खाने क्रममा संयोगले स्विजरल्याण्डको होमस्टे सम्बन्धी किताब पढ्ने मौका पाउनुभएछ । त्यो किताब पढेपछि उहाँको दिमागमा आफ्नो सिरुबारी गाउँलाई पनि होमस्टे बनाउन सकिन्छ भन्ने कल्पना वा सोच जन्मिएछ । त्यही कल्पना वा सोचको उपज हो, आजको सिरुबारी सामुदायिक होमस्टे ।

उहाँ भारतीय सेनाबाट छुट्टीमा गाउँ आउँदा गाउँलेलाई जम्मा गरेर विभिन्न विषयमा कुराकानी छलफल गराउने बानी थियो । उहाँले गाउँमा सुरुमा धेरैजसो सरसफाइको कुरा गर्नुहुन्थ्यो । गाउँमा सरसफाइको महत्वका बारेमा प्रशिक्षण दिनुहुन्थ्यो । तत्कालीन सिरुबारी पर्यटन समितिका संस्थापक सचिव प्रदीप गुरुङ भन्नुहुन्छ, ‘रुद्रमान गुरुङ छुट्टीमा आउँदा पनि सबै गाउँलेलाई जम्मा गरेर गाउँ बनाउने कुरा गर्नुहुन्थ्यो । सरसफाइ र एकता अनि अनुशासनको कुरा सिकाउनु हुन्थ्यो ।’

उहाँ वि.सं. २०३५ सालमा भारतीय सेनाको क्याप्टेन पदबाट सेवा निवृत्त हुनुभयो । यसपछिको समय उहाँले गाउँलाई नै दिनुभयो । उहाँले सबैभन्दा पहिले वन संरक्षण गर्ने कुरालाई प्राथमिकतामा राख्नुभयो ।

गाउँको जङ्गलमा तीव्र वन फँडानी भइरहेको कुराले रुद्रमानलाई चिन्तित बनाएको थियो । वन फडानीसँगै पानीका मुहान सुक्दै जाँदा सिरुबारीलाई गाउँ पर्यटनको नमुना गाउँ बनाउने रुद्रमानको सपना पुरा हुन सक्दैनथ्यो । वनको महत्व बुझेका क्याप्टेन साहेबले होमस्टेको र सिङ्गो सिरुबारी बस्तीको दीर्घकालीन भविष्यलाई मध्येनजर राख्दै वृक्षारोपण अभियान नै चलाउनुभयाे । उहाँको नेतृत्वमा चलेको वृक्षारोपणले ४८० हेक्टर क्षेत्रफलमा वृक्षारोपण अभियान सम्पन्न भएको थियो । करिब ३५ किलोमिटर क्षेत्रफलको ढुङ्गाको पर्खाल लगाएर सो वनलाई सुरक्षित बनाइएको थियो । यसरी उजाडिएको वन केही वर्षमै हराभरा हुन थाल्यो ।

त्यसपछि उनले होमस्टे बनाउनका लागि आवश्यक थप पूर्वाधारहरु निर्माण गर्दै गए । गाउँमा खानेपानी, शौचालय, बाटोघाटो, बिजुली जस्ता पूर्वाधारहरुमा रुद्रमानको ध्यान थियो । जतिबेला स्याङ्जा सदरमुकाम वरिपरिकै कतिपय बस्तीहरुमा बिजुली बलेको थिएन, त्यतिबेला नै रुद्रमानले बिजुलीका खम्बा भनेर बाँसका पोलहरु ढलाइरहेका थिए । सिरुबारीलाई विद्युत सञ्जालसँग जोडिसकेका थिए । शौचालयका लागि घरघरमा खाडल खन्दा गाउँकै कतिपयले उनलाई ‘पागल’ को संज्ञा दिएको गाउँकै मानिसहरुले बताउँछन् । रुद्रमानमा सेनाको अनुसासन उनले व्यावहारिक जीवनमा पनि लागू गरेका थिए । नियममा बस्ने उनको बानी थियो ।

गुरुङको होमस्टे योजना बन्दा सामान्य मानिसलाई त के कुरा पर्यटन कार्यालय तथा विभागका हाकिमहरुलाई समेत होमस्टेका बारेमा थाहा थिएन वा भएर पनि सिरुबारीलाई होमस्टे बनाउन सकिन्छ भन्ने कल्पना गर्न नै सक्दैनथे । अर्थात् यो असम्भव कुरा हो भन्ने उनीहरु ठान्थे ।
जतिबेला नेपालमा त के, दक्षिण एसियामै घरबासको अवधारणाले ठोस आकार लिइसकेको थिएन, त्यतिबेला गुरुङले नेपालको विकट पहाडी भुगोलको काखमा रहेको एउटा गुरुङ बस्तीलाई होमस्टे बनाउन सकिन्छ भन्ने दृढ विश्वासका साथ काम अगाडि बढाएका थिए ।
सिरुबारीलाई होमस्टे बनाउने अभियानमा रुद्रमानको सफलताका पछाडि गाउँलेको साथ नै मुख्य हो । उनको नेतृत्वमा समग्र गाउँ एक ढिक्का भएर यो अभियानमा नहोमिएका भए गुरुङको योजना अलपत्र पर्न पनि सक्थ्यो ।

रुद्रमान गुरुङको होमस्टे सपनालाई साथ दिने थुप्रै सिरुबारीबासी र थुप्रै अन्य मानिसहरु थिए । नेतृत्व र योजना रुद्रमानको थियो तर रुद्रमानको यो अभियानमा साथ दिने सारथीहरु प्रशस्त थिए भु.पू. प्रधानपञ्च दानबहादुर गुरुङ, बुद्ध आमा समूहका संस्थापक अध्यक्ष भीमकुमारी गुरुङ, हर्कबहादुर गुरुङ, भु.पू. प्रधानपन्च लालबहादुर गुरुङ, भु.पू. माननीय हरिप्रसाद गुरुङ, चन्द्रबहादुर गुरुङ, उत्तबहादुर गुरुङ, सु. प्रेमबहादुर गुरुङ, मनबहादुर गुरुङ, काशीराम गुरुङ लगायत सम्पूर्ण सिरुबारीबासीको साथ सहयोगले नै सिरुबारीले पहिलो पर्यटकीय गाउँको रुपमा ऐतिहासिक विरासत बनाउन सफल भएको हो ।

गुरुङको यो अभियानमा साथ दिने पर्यटन कार्यालय र विभागका थुप्रै कर्मचारी, पत्रकार, लेखकहरु, विभिन्न पेसाकर्मीहरु पनि छन् । विशेष गरी नेपाल पर्यटन बोर्डका प्रबन्ध अधिकृत भुवनसिंह गुरुङ (सिरुबारीका ज्वाइँ) र पर्यटन विभागका अधिकृत पदम के.सी.ले होमस्टे दर्ता लगायतका विभिन्न प्रशासनिक र प्रक्रियागत काममा साथ दिएका थिए ।

रुद्रमान गुरुङलाई यो अभियानमा साथ दिने केवल सिरुबारीबासी गाउँलेमात्रै थिएनन्, विदेशी नागरिकले पनि साथ दिएका थिए । तीमध्ये अष्ट्रेलियन नागरिक टोनी पारको सबैभन्दा अग्रणि भूमिका छ । उनले सिरुबारीलाई अन्तरार्ष्टिट्रय जगतमा चिनाएर गाउँमा पर्यटक भित्र्याउने काममा ठुलो सहयोग गरेका थिए । सिरुबारी होमस्टेलाई अन्तरार्ष्टिय जगतमा ’कनेक्ट’ गराउने काममा उनको ठूलो भूमिका रहेको छ ।
सिरुबारी सामुदायिक होमस्टेले प्राप्त गरेका पुरस्कारमध्ये PATA Award (Pacific Asia Travel Association 2001) सबैभन्दा महत्वपूर्ण छ । यसबाहेक पनि उत्कृष्ट होमस्टे प्रथम पुरस्कार २०७४ पनि उल्लेख्य छ । सिरुबारी गाउँको तस्विर अङ्कित हुलाक टिकट प्रकाशन २०७८ पनि सिरुबारी होमस्टेका लागि गौरवको विषय हो ।

सुरुमा सिरुबारी होमस्टे विदेशी पाहुनाको लागि मात्र थियो । पोखराबाट सिद्धार्थ राजमार्गको बाटोबाट हेलु पुगेपछि त्यहाँ हिँडेर ३ घण्टामा विदेशी पर्यटक सिरुबारी होमस्टे पुग्ने गर्थे । अहिले भने आन्तरिक पर्यटकका लागि पनि सिरुबारी आकर्षक गन्तव्य बन्न पुगको छ । अहिले सिरुबारी जाने सबैभन्दा छोटो र सजिलो बाटो पोखरा नागडाँडा सेतीदोभान बेझाङ हुँदैं जाने करिब ४५ किलोमिटरको बाटो हो ।
यतिबेला सिरुबारीको सिङ्गो गाउँ नै रजत जयन्तीको भव्य तयारीमा जुटिरहेको छ । होमस्टेको राजधानीका रुपमा यसले करिब १४०० होमस्टेको अगुवाइ गरिरहेको छ । पछिल्लो समय सिरुबारीलाई होमस्टेको पाठशालाका रुपमा लिन थालिएको छ । यस शुभ अवसरमा सिरुबारी होमस्टेको उत्तरोत्तर प्रगतिको शुभकामना ।