फेदीखोला खेलकुद सप्ताह सुरू

फागुन २४, २०७८


२४ फागुन २०७८

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ फेदीखोला गाउँपालिकाद्वारा आयोजित खेलकुद सप्ताहको आज जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सिता सुन्दासको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको छ ।

हिमशिखर क्लब फेदीखोलासँगको सहकार्यमा गाउँपालिकाले फागुन २४ देखी ३० गते सम्म खेलकुद सप्ताहको आयोजना गरेको हो ।
यो एक साताभर फुटबल, भलिवल, ब्याडमिन्टन, पुरुष/महिला खुल्ला (३००मि. र १०००मि.) दौड, छेलो लगायतका प्रतियोगिता संचालन हुने छन्।
बिहान ११ बजे गाउँपालिका घुम्ती देखी बाजागाजा , र्‍याली र झाँकी लगायत विभिन्न जातजातीको आफ्नो परम्परा अनुसारको सांस्कृतिक नृत्यसहित फेदीखोला रंगशाला सम्म पुगी उद्घाटन सत्रको औपचारिक कार्यक्रम सुरु भएको थियो । कार्यक्रमको उद्घाटन खेल महिला भलिवल प्रतियोगिताको प्रमुख अतिथि सुन्दासद्वारा उद्घाटन भएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवी थापा, प्रमुख प्रशासकीय अधिकृत, पालिका अन्तर्गत सम्पूर्ण वडाका वडा अध्यक्ष साथै निर्वाचित सम्पूर्ण प्रतिनिधि, पालिका भित्रका सम्पूर्ण विद्यालयका शिक्षकहरू, पालिका स्थित विभिन्न शाखाका शाखा प्रमुख,  खेलाडीहरू, राजनैतिक पार्टीका प्रतिनिधि, प्रहरी प्रशासन, जातजातीको आ-आफ्नो समूह, फेदीखोला-२, सिद्धार्थ मा.वि. स्थित स्काउट समुह, स्थानियबासी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन फेदीखोला गाउँपालिका खेलकुद कार्यसम्पादन समितिका सदस्य राजन पराजुलीले गर्नुभएको थियो ।