कालीगण्डकीमा प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता हुने

जेठ १०, २०८१     एनपी कोइराला


हाम्रो समाजमा फुटबल, भलिबल र क्रिकेटलाई मात्र महत्वको स्थानमा राखिने गरेपनि केहि स्थानीय तहले बुद्धिचाल खेलको प्रवर्द्धनमा चासो दिएका छन् । यस्तै चासो दिएर चेस खेललाई अध्यक्ष कपमा समावेश गरेको कालीगण्डकी गाउँपालिकाले प्रदेश खेलकुद परिषदसँगको सहकार्यमा  यही जेठ १२ र १३ गते प्रदेश स्तरीय खेल आयोजना गर्ने भएको छ ।बिहिबार वालिङमा पत्रकार सम्मेलन गरि पालिकाले प्रतियोगिताका बारेमा जानकारी गराएको हो।

अध्यक्ष कपमा यो खेलमा अत्याधिक आकर्षण भएपछि पालिकाले बुद्धिचाल खेल प्रवर्धनमा चासो दिएको गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिए।  अध्यक्ष कपमा फरक क्षमता भएका विवेक पाण्डेले समेत बुद्धिचाल खेलमा सक्रियतापूर्वक भाग लिएर सबैको ध्यानाकर्षण गरेका थिए।

गाउँ गाउँमा यो खेलको आकर्षण देखेपछि पालिकाले पनि यो खेललाई अन्तराष्ट्रिय स्तरको प्रतियोगिता राख्ने लक्ष्य राखेको भएपनि पहिलो चरणमा प्रदेश स्तरीय खेलकुद गर्न लागेको हो ।  प्रतियोगिताले खेलाडी मात्र उत्पादन सँगसँगै  कालीगण्डकी गाउँपालिकाको पर्यटनको विकासमा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

 धार्मीक महत्व बोकेको कालीगण्डकी र आँधीखोला नदीको संगम स्थल आँधीमुहानमा संचालीत देशकै पहिलो मोटरबोट अर्थात स्टिमरमा उद्धघाटन गराएर खेलकुद मार्फत पनि पर्यटन प्रर्वद्धन गर्न सकिन्छ भन्ने मूख्य उद्देश्य सहित यो प्रतियोगिता  संचालन गर्न लागिएको अध्यक्ष थापाले बताए। उद्घाटन खेल बाहेकका सम्पूर्ण खेल गाउँपालिकाको कार्यालयमा संचालन गरिने अध्यक्ष थापाले बताए। कालीगण्डकी गाउँपालिकाले खेलकुदलाई विशेष महत्त्व दिएको बताउँदै अध्यक्ष थापाले पालिका, प्रदेश र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न र खेलकुदबाट समेत जिविकोपार्जन गर्न सकिन्छ भन्ने कुरा प्रमाणित हुने गरी पालिका अगाडि बढीरहेको जानकारी दिए।

 यस प्रतियोगितामा गण्डकी प्रदेशको ११ वटै जिल्लाबाट दुई पुरुष र दुई महिला खेलाडीले सहभागिता जनाउने गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारीले जानकारी दिए।आयोजक रहेको कालीगण्डकी गाउँपालीकाले जिल्ला सरह ४ जना खेलाडी खेलाउन पाउने अध्यक्ष भण्डारीले जानकारी दिए। यो प्रतियोगितामा आयोजक कालीगण्डकी र ११ जिल्लाबाट ४८ जना खेलाडीबीच  प्रतिस्पर्धा रहने बताइएको छ।

प्रतियोगिता सम्पन्न गर्न कालीगण्डकी गाउँपालिकाले  ३ लाख र गण्डकी प्रदेश खेलकुद परिषदले तीन लाख रकम विनियोजन गरेका छन्। सहभागी खेलाडीले यातायात सुविधा र दैनिक खेलाडी भत्ता नियमअनुसार  सुविधा पाउने आयोजकले बताएको छ। प्रतियोगितामा ७ जना राष्ट्रिय आर्बेटरले खेल खेलाउने छन्। विजेताहरूलाई प्रदेश र राष्ट्रिय स्तरमा हुने खेलमा सहभागी हुने अवसर प्रदान गरिने र सहभागी हुँदा लाग्ने सम्पूर्ण खर्च प्रदेश खेलकुद परिषद गण्डकीले बेहोर्ने प्रदेश बुद्धिचाल संघका अध्यक्ष भण्डारीले बताए।