प्याराग्लाइडिङको लागि पोखराको विकल्प बन्दै स्वरेक

असार ०३, २०७९


स्याङ्जा
३ असार २०७९



गण्डकी प्रदेशको मध्य भागमा अवस्थित स्याङ्जा जिल्ला प्रशासकहरुको जिल्ला भनेर चिनिन थालेको धेरै भयो । अब भने स्याङ्जाको पहिचान राष्ट्रिय स्तरमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत फैलने भएको छ। कारण हो साहसिक खेलको उत्कृष्ट गन्तव्य, प्याराग्लाइडिङको हव-स्वरेक मैदान। जिल्लाको भीरकोट नगरपालिका वडा नं. ५ मा पर्ने स्वरेक मैदानमा प्याराग्लाइडिङको उडान भर्न थालेको २ दशक पछि यसको चर्चा, गरिमा र आवश्यकता थप चुलिँदै गएको छ ।



निेर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको करीब ९५ प्रतिशत निर्माण कार्य सकिइसकेको छ।  देशकै पर्यटकीय केन्द्र पोखरामा पर्यटन विकासको उद्देश्यले निर्माण गरिएका अन्तर्राष्ट्रिय विमानस्थलले गर्दा त्यहाँको प्याराग्लाइडिङ विस्थापित हुन लागेको हो । विमानस्थल संचालन हुने मिति अझै तोकिएको छैन। तथापी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखराको आकाशमा उड्ने प्याराग्लाइडिङलाई २०२२ भित्रै अन्यत्र सार्न निर्देशन दिएको छ । प्याराग्लाइडिङ सँगसँगै पोखराको अर्को पर्यटकीय सुविधा अल्ट्रालाइट जहाज पनि यहाँबाट विस्तापित हुनेछ।

पोखराबाट करीब ६० कि.मि. सडक यात्रामा पुग्न सकिने स्वरेक मैदान प्याराग्लाइडिङको लागि अबको विकल्प मात्रै नभएर नेपालकै उत्कृष्ट गन्तव्य पनि हो । समुन्द्री सतहबाट १५८० मिटरको उचाइमा रहेको स्वरेक मैदान सिद्धार्थ राजमार्गको बयरघारी बजारबाट करीब ९ कि.मि.को दुरीमा छ । वालिङ नगरपालिकाबाट १३ कि.मि. यात्रा गरेपछि स्वर्गको टु्क्रा स्वरेक पुग्न सकिन्छ ।

अन्नपूर्ण हिमालको मनोरम दृश्य र पहाडी भुभाग, जिल्लाको मध्य भाग भएर बग्ने आँधीखोला नदीको नागवेली दृश्य, मनोरम फाँटहरुको अलौकिक दृश्यावलोकन गर्न पर्यटकहरु स्वरेक मैदान आउने गर्दछन् । पर्यटकीय सम्भावनालाई मध्यनजर गरेर भीरकोट र वालिङ नगरपालिका दुवैले आ-आफ्नो तर्फको मोटरबाटो पिच गर्न र थप व्यवस्थित गर्न थालिसकेका छन्।  स्वरेकलाई उत्कृष्ट र सहज गन्तव्य बनाउन अवको एक वर्ष भित्रै सडक पिच गरी अन्य पूर्वाधारको पनि विकास गर्नुपर्ने देखिन्छ । स्वरेक मैदानमा पर्यटकको लागि पैदलमार्ग, साइकल ट्रयाक निर्माण भैसकेका छन् । पर्यटकका लागि घरबास (होमस्टे), होटल, रिसोर्ट र लजको समेत व्यवस्था छ ।

बाबु एडभेन्चरले पर्यटकहरुलाई अर्गानिक खानेकुराका साथै सम्पूर्ण सुविधा प्रदान गरिरहेको छ। संचालक सानोबाबु सुनुवार प्याराग्लाइडिङ एक्स्पर्टको रुपमा विश्वभरिनै सुपरिचित छन् । यहाँ नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ स्कूल पनि संचालनमा छ, जहाँ प्यारा पाइलट बन्नकै लागि देशी विदेशी पर्यटकहरु आउने गर्दछन् । यहाँ प्याराग्लाइडिङ एक्कुरेसी वर्ल्ड कप-२०१८ पनि सफलतापूर्वक सम्पन्न भएको थियो ।