निशुल्क एम्बुलेन्स अभियानमा सहयोग गर्ने भीरकोटबासी सम्मानित।

भदौ ११, २०७८


भदौ ११, भीरकोट खबर डेस्क

स्कुल अफ डेमोक्रेसी स्याङ्जाले गरिब तथा विपन्न लक्षित निशुल्क एम्बुलेन्स सेवा संचालनमा आर्थिक सहयोग गरेका भीरकोटबासीहरूलाई सम्मान गरेको छ। भीरकोट नगरपालिकामा आयोजित एक औपचारिक कार्यक्रममा सहयोगी दाताहरूलाई खादा ओढाइ सम्मान पत्र प्रदान गरिएको हो। संविधान सभा सदस्य माननीय राजु थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भीरकोट नगर प्रमुख छायाराम खनाल र उपप्रमुख सिमा केसी कर्माचार्यले विशिष्ट अतिथिको रूपमा शुभकामना मन्तव्य राख्नुभएको थियो।

प्रमुख अतिथी थापाले गरिब तथा विपन्न लक्षित निशुल्क एम्बुलेन्स सेवा संचालन अभियानमा सहयोग गर्ने सबैलाई र अभियानको संचालन गरेर कोभिडको महामारीमा जनताको सेवामा लागि परेकोमा स्कुल अफ डेमोक्रेसी स्याङ्जाका अध्यक्ष इन्जिनियर अनुप श्रेष्ठलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो।अभियानमा सहयोग गर्ने पहिलो व्यक्ती आफू भएको जानकारी गराउँदै उहाँले प्रजातन्त्रलाई संस्थागत र सुदृढ गर्न एवं पार्टीलाई बलियो र जनभावना अनुसार काम गर्ने बनाउन सबै कांग्रेसीजन लागि पर्नुपर्नेमा जोड दिनुभएको थियो।

विशिष्ट अतिथिको रूपमा बोल्दै नगर प्रमुख छायाराम खनालले स्कुल अफ डेमोक्रेसीको जनसेवाको अभियान र आर्थिक पारदर्शिताको प्रशंसा गर्दै निशुल्क एम्बुलेन्स अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो। आफ्नो ५० वर्षको राजनीतिक यात्रामा आर्थिक इमानदारीतालाई सधैं पहिलो प्राथमिकतामा राखेको बताउँदै खनालले नगर प्रमुखको जिम्मेवारी समाल्दा पनि आर्थिक पारदर्शिता र सुशासनलाई पहिलो प्राथमिकता राखेको प्रष्ट पार्नुभएको थियो। नगरपालिकामा संचालित सतप्रतिशत योजना सफलतापूर्वक सम्पन्न गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै प्रजातन्त्र सहितको आर्थिक विकासका लागि युवाहरू पनि राजनीतिमा लाग्नुपर्ने बताउनुभएको थियो। प्रजातान्त्रिक वातावरण निर्माणमा स्कुल अफ डेमोक्रेसीलाई सकारात्मक पहल जारी राख्न अनुरोध गर्दै नेपाली काङ्ग्रेस पार्टिलाई बलियो बनाउन निर्वाचन हार्ने र जित्ने सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो।



स्कुल अफ डेमोक्रेसीका अध्यक्ष इ.अनुप श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कोभिड १९ महामारीको समयमा आफ्नो ज्यानको प्रवाह नगरी भीरकोट जेसिजसँग सहकार्य गर्दै जनतालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएकोमा वडा नं ५ का अध्यक्ष यामप्रसाद अधिकारीको विशेष प्रशंसा समेत गर्नुभएको थियो।

अध्यक्ष श्रेष्ठका अनुसार निशुल्क एम्बुलेन्स अभियानमा भीरकोटबाट नगर प्रमुख, नगर उपप्रमुख,नगर सभापति तोयनाथ अर्याल लगायतका १८ जनाले रू ७८,७०० सहयोग गरेका थिए। आफूहरू सदैव जनताकै सेवामा रमाउने बताउँदै नगर प्रमुख र उपप्रमुखले एम्बुलेन्स अभियानमा सहभागी भए बापत सम्मान ग्रहण गर्न मान्नुभएन। अभियानमा सहभागी दाताहरू सबैलाई धन्यवाद दिंदै  स्कुल अफ डेमोक्रेसीका अध्यक्ष श्रेष्ठले  निशुल्क सवारी साधन उपलब्ध गराउनु भएकोमा प्रह्लाद मरासिनी लगायत बिभिन्न तह र तप्काबाट साथ,सहयोग र उत्प्रेरणा प्रदान गर्नुभएकोमा वालिङ् र भीरकोटका नगरप्रमुखहरूको प्रशंसा गर्नुभएको थियो।