जनचेतना अभिवृद्धि गर्न जनप्रतिनिधिको सक्रियता

असोज १४, २०८०


स्मार्ट संवाददाता, भीरकोट

१४ असोज २०८०

बालमैत्री नगरपालिका भीरकोटमा विद्यार्थीहरूलाई विभिन्न  विषयमा जनचेतना जगाउन जनप्रतिनिधि लागि परेका छन्। जिल्ला ट्राफिक  प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी वालिङ र दहथुम प्रहरी चौकीसँग समन्वय गरी भीरकोटका माध्यमिक विद्यालयहरूमा सडक सुरक्षा, लागू औषध दुर्व्यसनी , आत्महत्या , साइबर सुरक्षा लगायतका विषयमा जनचेतना जगाइएको हो।

बढ्दो सवारी दुर्घटना, लागू औषध दुर्व्यसनी , आत्महत्या र साइबर अपराधलाई न्यूनीकरण गर्ने उद्देश्यले जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिइएको वडा नं ४ का जनप्रतिनिधि रूद्र ढुंगानाले बताए।  ढुंगानाले प्रहरी अधिकारीहरू र विद्यालयहरूसँग समन्वय  गरी जनचेतना अभिवृद्धिका लागि भीरकोटका माध्यमिक विद्यालयहरूमा पुगेका छन् ।

भाग्योदय मा.वि., दहथुम मा.वि., बालोदय मा.वि र सहिद शुक्र मा.वि. , बालोदय मा.वि. लगायतका विद्यालयहरूमा जनचेतना अभिवृद्धिको कार्यक्रम भैसकेका छन्। हरेक जनचेतना अभिवृद्धि कार्यक्रम स्वयं उपस्थित भएर ढुंगानाले समन्वयात्मक र सक्रिय भूमिका निर्वाह गरेका छन्। भीरकोट जेसिजले आयोजना गरेको ट्राफिक सचेतना कार्यक्रममा पनि ढुंगानाले सक्रिय भूमिका निर्वाह गरेका थिए।

जिल्ला ट्राफिक कार्यालय स्याङ्जाका प्रमुख प्रविन आचार्यले पनि भीरकोटका विद्यालयहरूमा जनचेतना अभिवृद्धिको कार्यमा ढुंगानाले  सक्रियतापूर्वक सहयोग र समन्वय गरेको बताए। ढुंगानाले जस्तै सबै जनप्रतिनिधिले सहयोग गर्ने हो जनचेतना जगाउने कार्य सहज र उपलब्धिमूलक हुने उनको भनाई छ। ट्राफिक सचेतनानै  सडक दुर्घटना न्यूनीकरणको एक प्रमुख माध्यम भएकाले जनचेतना अभिवृद्धिलाई जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले पनि प्राथमिकतामा राखेको आचार्यले बताए।हालसम्म आचार्यको अगुवाइ र सक्रियतामा जिल्लाका दुई दर्जन भन्दा बढी विद्यालयहरूमा ट्राफिक सचेतना अभिवृद्धिको काम भएका छन्। मुख्य शहरहरू स्याङ्जा र वालिङमा पनि पार्किङ व्यवस्थापनको कार्य भएको छ।