जन्मदिनको अवसरमा अग्नि पीडितलाई सहयोग

चैत २०, २०७९


२० चैत्र २०७९

आजभोलि पश्चिमेली संस्कृतिलाई पछ्याउँदै अनेकौं फजुल खर्च गरेर जन्म दिन मनाउने प्रचलन बढ्दै गएको छ। बढ्दो विकृतिलाई तोडेर समाजमा सकारात्मक सन्देश प्रदान गर्न तथा सहयोगी परम्परा बसाउन आफ्नो ३९ औँ जन्मदिनको अवसरमा नेपाली काँग्रेसका भीरकोट नगर सभापति याम प्रसाद अधिकारीले अग्नि पीडितलाई सहयोग गरेका छ्न्। जन्म दिनको अवसरमा भीरकोट जेसिजका स्थापनाकर्ता एवं समाजसेवी अधिकारी (लक्ष्मण) ले गत फाल्गुण ११ गते राति घरमा आगलागी भई लाखौं मूल्य बराबरको क्षति बेहोर्न विवश भीरकोट ५ सिम्ले निवासी गीता कुमारी खाँणको घरमा गई  आइतबार सहयोग रकम हस्तान्तरण गरेका हुन् । भीरकोट जेसिज वर्ष २०२३ का अध्यक्ष जेसी सुन्दर कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वर्ष २०२१ का अध्यक्ष जेसी प्रसुन मगर, जेसी राजकुमार गुरुङ,जेसी विदुर कोइराला,समाजसेवी चन्द्र ध्वज खाँण लगायत अन्य युवाहरुको उपस्थितिमा अधिकारीले एकमुष्ट रु १०हजार १सय नगद रकम हस्तान्तरण गरेका हुन्। आफ्नो हरेक जन्म दिनको अवसरमा यसरी नै विभिन्न ठाउँमा सहयोग गर्दै आएका भएका अधिकारीले पीडित खाँणको बसोबासको उचित व्यवस्थापन गर्न आगामी दिनमा अझै धेरै सहयोग जुटाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।भीरकोट जेसिजका निवर्तमान अध्यक्ष जेसी कृष्ण प्रसाद पाैडेलको सञ्चालनमा भएको उक्त कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले अधिकारीलाई टिका लगाएर सुस्वास्थ्य,दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना गरेका थिए। समाजसेवामा रमाउने अधिकारीले समाजमा सांस्कृतिक विचलन कम गरी समाजमा सहयोगी भावना जागृत गराउने उद्देश्यले जन्मदिनको अवसरमा अग्नि पीडितलाई सहयोग गरेको बताए।