१४ करोड लगानीमा वालिङमा नमुना बसपार्क बन्दै

पुष १५, २०७९


स्मार्ट संवाददाता, वालिङ
१५ पुस २०७९

बिज्ञापन
विज्ञापन

१४ करोड ४१ लाख रुपैयाँको लगानीमा स्याङ्जाको वालिङ नगरपालिकामा नमुना बस पार्क बन्ने भएको छ। शहरी विकास कोषबाट ८० प्रतिशत ऋण तथा वालिङ नगरपालिकाको २० प्रतिशत लगानीमा अत्याधुनिक सुविधासम्पन्न बसपार्क बनाउन लागिएको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताए। बसपार्क २६ रोपनी क्षेत्रफलमा निर्माण हुने पालिकाका इन्जिनियर ध्रुव रेग्मीले जानकारी दिए।

वालिङ बजारको वडा नं ८ शितलनगरमा आधुनिक बसपार्कको निर्माणसँगै स्मार्ट सिटीको पहिचान बनाउँदै गरेको वालिङमा सवारी पार्किङको समस्या समाधान हुने भएको छ।वालिङमा सवारी साधन व्यवस्थित रुपमा पार्किङ गर्ने ठाउँको अभावले बजार क्षेत्र कुरुप तथा साघुरो बनेको छ।

सवारी पार्किङको समस्या समाधानको लागि विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार भएको छ । नगर प्रमुख खाँणले भने, ‘वालिङबाट छुट्ने तथा वालिङमा रोकिने ठुला,मझौला तथा साना सवारी साधनहरुको पार्किङको समस्या अब समाधान हुन्छ । लामो तथा छोटो दुरीका सवारी साधनहरु बाटो छेउ,निजी जग्गा वा अन्यत्र कहीँ पार्किङ गर्नु पर्दैन ।’



बसपार्क निर्माणको काम केन्द्र सरकार र प्रदेश सरकारको समपुरक योजनाका रुपमा अघि बढाइने नगर उपप्रमुख कविता तिवारीले बताइन् । उपप्रमुख तिवारीका अनुसार पब्लिक–प्राइभेट पार्टनरसीप(पीपीपी) मोडेलमा बसपार्क निर्माणको काम हुनेछ, तर यसबारेमा कार्यपालिकाको निर्णयलाई आधार मानिनेछ ।

बसपार्क निर्माण भएपछि जीप,मिनीबस,माइक्रोबस लगायतका छोटो दुरीमा चल्ने सवारी साधनहरु प्रतिघण्टा ४२ वटा पार्किङ गर्न सकिनेछ । त्यसैगरी लामो दुरीमा चल्ने बसहरु प्रतिघण्टा ४८ वटा र बिजुलीबाट चल्ने बसहरु प्रतिघण्टा ८ वटा, प्रतिघण्टा २ पाङ्ग्रे १० वटा,निजी सवारी कारहरु २० वटा अटाउनेछन् ।