वालिङ नगरपालिकाको चर्चा बढी विकासको अनुभुति कम
स्मार्ट अखबार संवाददाता ,
१० वैशाख २०७९
पाँचवर्षे कार्यकाल पूराभएसँगै यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । झण्डै १८ वर्षपछि २०७४ साल जेठ ३० मा स्थानीय निर्वाचन भएको थियो । लामो समय जनप्रतिनिधि विहिनहुँदा विकास निर्माणका काम अलमलमा परेका थिए । स्थानीय निर्वाचन भएपछि आम नागरिकहरुमा निकै आशावादी बनायो । जनप्रतिनिधिहरुले पनि आ-आफ्ना पालिकामा विकासे योजनाहरु अगाडि सारेर नागरिकहरुलाई आश्वस्त पारे । तर कतिपय पालिकाहरुमा वार्षिक योजनाहरु कागज र बोलीमै सीमित रहन पुगेका छन् । पालिकाहरुले कामभन्दा लोकप्रिय योजनाहरु ल्याएर चर्चामा आउनुमै सीमित रहेको आम नागरिकमा परेको छ ।
देशभरका पालिकाहरु मध्ये वालिङ नगरपालिका विशेष चर्चामा आउने पालिकामा पर्छ । पूर्वाधार विकासका कामले जिल्लामा चर्चा वालिङको छ भने काम अन्य पालिकामा कामै नभए जस्तो देखिन्छ। स्थापनाको अवधिका आधारमा तुलनात्मक अध्ययन गर्ने हो भने अरू पालिकाहरू वालिङ भन्दा अगाडि छ्न्।पाँच नगरपालिका र ६ गाउँपालिका गरी ११ पालिका रहेको स्याङ्जामा सुरुका दिनदेखि वालिङ नगरपालिका विशेष चर्चामा आइरहने पालिका हो । देशमै चर्चा पाउनुले नगरवासीहरुलाई थप उत्साही बनाएकै हो । चर्चामात्र होइन, देशकै उत्कृष्ट पालिकाहरु मध्ये पुरस्कृत समेत हुँदै आएको वालिङ नगरपालिकामा देखिनेगरी काम भएको भने पाईंदैन । स्मार्टसिटीको २० वर्षे अवधारणा अगाडि सारेको वालिङ नगरपालिका अहिले आएर चर्चाकै भरमा चित्त बुझाउनु परेको छ ।
यातायातको सहज पहुँच हुनुपर्छ, जबकि विकासको पहिलो खुड्किलो सडक नै हो । नगरपालिकाले आफ्नो पहलमा नयाँ काम गर्न नसके पनि भएका सडक जनताले अनुभूति गर्ने गरि स्तरोन्नतिसम्म पनि गर्न सकेको छैन । धेरै ठाउँमा प्रायजसो विकासका कामहरु केन्द्र भागबाट नै अगाडि बढ्ने गरेका देखिन्छन् । तर वालिङ नगरपालिकाकै केन्द्रभागमा रहेको वडा नम्वर ८ मा कुनै परिवर्तन आएको छैन । भएका बाटाघाटाहरुमा नालीको समेत व्यवस्था हुन सकेको छैन भने सडक पीच हुने त परैको कुरा भयो । कतिपय स्थानहरुका सडकहरु हिउँदका समयमा पनि हिलाम्मे भएर हिडडुल गर्न समेत समस्या हुने गर्दछ ।
विभिन्न गैर सरकारी संघ संस्थाबाट प्राप्त सामाग्री वितरणगरी दलितबस्ती र मजदुरहरुका मत सुरक्षित गर्न जनप्रतिनिधिहरु केन्द्रित रहेको देखिन्छ । यस्ता क्रियाकलापले दीर्घकालिन विकासभन्दा सस्तो लोकप्रियतामा केन्द्रित भएको स्पष्ट हुन्छ ।
नगरपालिकाको प्रगति कार्यालयदेखि दायाँबायाँ ५ सय मिटरसम्मको क्षेत्रलाई मात्र हेरे पुग्छ । विकास त कुरामा गरिने होइछ, काममा होइन छ भन्ने नगरवासीहरुमा महसुस गराएको छ । नगरपालिका कार्यालय वरिपरिका सडक र वातावरणीय अस्तव्यस्तताले जन प्रतिनिधिहरुलाई गिज्याइरहेका देख्न पाइन्छ ।