वालिङको राष्ट्रिय पहिचान कायम राख्नु साझा दायित्व: नगरप्रमुख खांँण

भदौ १५, २०७९


स्मार्ट अखबार संवाददाता
१५ भाद्र २०७९

वालिङ नगरप्रमुख कृष्ण खांँणले राष्ट्रिय स्तरमा रहेको वालिङको पहिचानलाई जोगाउँदै समृद्ध नगर विकास गर्नु  वालिङबासी सम्पूर्ण नागरिकहरूको साझा दायित्व रहेको बताउनुभएको छ । बुधबार पत्रकारहरुसंँगको भेटघाट कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख खाँणले भन्नुभयो, “वालिङको छविलाई जोगाउँदै थप विकास गरी यो छविलाई अझ उचो बनाउने दायित्व हामीमा छ । संस्थापक जनप्रतिनिधिदेखि निर्वतमान जनप्रतिनिधिलगायतको टिमले गर्दा नगरपालिका यहाँसम्म आईपुगेको हो । उहाँहरु प्रति हामी आभारी छौँ ।”

संस्थापक देखि निवर्तमान नगर प्रमुखहरूले देखेका समृद्ध वालिङ निर्माणका सपनाहरू पूरा गर्न आफू लागि परेको बताउँदै नगर प्रमुख खाँणले अल्पमत वा बहुमतका आधारमा भन्दा पनि साझा सहमतिका आधारमा नगरको विकास गरिने बताउनुभयो।नगरसरसफाई लगायत कार्यसम्पादनमा पुरस्कृत हुन सफल नगरपालिकामा सुक्ष्म रुपमा रहेका समस्या पहिचान गरी यहाँका धार्मिक तथा पर्यटकीय संभावनाहरुको खोजी गरी नमुना नगरपालिका बनाउने नगरप्रमुख खांँणले बताउनुभयो ।  वालिङमा चेक ड्याम बनाउने, बजार व्यवस्थित बनाउँदै ग्रामीण भेगका मुल सडकहरुलाई सकेसम्म पाँच वर्ष भित्र पिच गरिने वा नाला बनाएर ग्राभेल गरी दुर्घटना हुनबाट जोगाउने र बाह्रै महिना आवतजावत गर्न मिल्ने बनाउने नगरप्रमुख खांँणले बताउनुभयो ।

जनप्रतिनिधि सबैको साझा रहेको भन्दै संकुचित सोँचलाई त्यागेर सोँच फराकिलो बनाएर काम गर्ने दायित्व जनप्रतिनिधिको रहेको उहाँको भनाइ थियो। नगरका सम्बन्धित पक्षलाई समेटेर नगरको विकासमा लाग्ने भन्दै अव्यवस्थित पार्किङ, अव्यवस्थित तारहरुले नगरको सुन्दरतालाई असर गरेकाले त्यसलाई तुरुन्त व्यवस्थपन गर्न निर्देशन दिइसकिएको बताउनुभयो । अनावश्यक प्रयोग नभएका ताहरु हटाउन र आवश्यक तारहरुको सहि व्यवस्थापन गर्न केलब, इन्टरनेट, टेलिकमलाई निर्देशन दिइसकिएको प्रमुख खांँणले बताउनुभयो ।

पत्रकार समाजको आँखा भएकाले पत्रकारको सुझाव र सल्लाह अनुसार नगरका बेतिथिहरुलाई अन्त्य गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पत्रकार समाजको दृष्टि हो । पत्रकारले नागरिकलाई सहि सुचना सम्प्रेषण गर्दै सुसुचित बनाउन मद्दत गर्नुपर्छ । पत्रकार, पुर्वजनप्रतिनिधिहरु, बुद्धिजिवी, राजनीतिक दल, नागरिक समाज, कर्मचारीलगायतको सहकार्यमा नगरको द्रुत र दीर्घकालिन विकास गर्न सकिन्छ ।’

पत्रकारले नै सहि गलत मार्ग निर्देश गर्न सक्ने र जनप्रतिनिधिलाई सचेत बनाउन सक्ने भन्दै पत्रकारहरुको सल्लाहअनुसार अगाडि बढ्ने प्रमुख खांँणले बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ स्याङ्जका अध्यक्ष श्रीकृष्ण सिग्देलले पत्रकार जहिलेपनि जनप्रतिनिधिको प्रतिपक्षी र जनताको पक्षमा हुने भन्दै राम्रा काममा पत्रकारको साथ सँधै हुने बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका अनुशासन आयोगका केन्द्रिय सदस्य मुक्ति न्यौपाने, नेपाल प्रेस युनियनका जिल्ला सभापति प्रदिप कोईराला, प्रेस चौतारी स्याङ्जाका उपाध्यक्ष कला राना, सचिव जीवन शर्मा अर्याल लगायत पत्रकारहरुले नगरका धार्मिक पर्यटकीय र शैक्षिक संभावनाहरुका बारेमा जानकारी गराउँदै आँधीखोला संरक्षण, सार्वजनिक सम्पत्तिको पहिचान तथा संरक्षण, शैक्षिक क्षेत्रलाई राजनितिबाट मुक्त गरी अगाडि बढ्न, सरकारी कार्यालयहरुका बेतिथि अन्त्य गर्न, सिद्धार्थ राजमार्ग चौडा गर्न, पार्किङलाई व्यवस्थित गर्ने विषयमा आ–आफ्ना सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।