वालिङमा स्मार्ट सिटीको कुरा, कहिले होला पूरा ?

भदौ ०१, २०७९


रबि थापा, स्याङ्जा
१ भाद्र २०७९

स्याङ्जाको   वालिङ नगरपालिका जिल्लाकै करिब करिब मध्यभागमा अवस्थित रहेको छ । यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आंँधीखोला बगेको छ भने पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्बिनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ राजमार्गले काटेर गएको वालिङ बजार आँधीखोलाको किनारमा पर्ने मुख्य व्यापारिक केन्द्र पनि हो । त्यसैले गर्दा यस नगरपालिकाले विविध संभावनाहरु बोकेको देखिन्छ । वालिङ नगरपालिका, प्रदेश सदरमुकाम पोखराबाट ६५ किमि तथा जिल्ला सदरमुकाम पुतलीबजारबाट २७ किमि टाढा रहेको छ ।आकार हेर्दा चरा जस्तो देखिने वालिङ नगरपालिका समुन्द्र सतहबाट ७३१ मिटर देखि १५९६ मिटर उचाई सम्म रहेको छ ।

वालिङ नगरपालिकामा विभिन्न सम्भावना भएकाले नेपाल सरकारबाट वालिङ नगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गरिने भनी घोषणा गरिएको थियो । नेपाल सरकारको सो परिकल्पनालाई साकार बनाउन लागि वालिङ नगरपालिका पनि खटिएको छ । नगरपालिकाको बजारक्षेत्रलाई स्मार्ट सिटी तथा गाँउहरुलाई स्मार्ट भिलेज बनाएर स्मार्ट वालिङ बनाउने योजना रहेका निर्वतमान नगरप्रमुख दिलिप प्रताप खाँणले बताउनुभयो ।

स्मार्ट सिटी भनेको के हो ?

स्मार्ट सिटी, सूचना तथा संचार प्रविधीले ल्याएको क्रान्ती संँगै विकसित भएको अवधारणा हो । यसको कुनै निश्चित परिभाषा छैन । यो शहरबासी र शहरको नेतृत्वले बोकेको सपना हो । सन् २०५० सम्ममा विश्वको करिब ७० प्रतिशत जनसंख्या शहरमा बस्ने अनुमान गरिएको छ ।

स्मार्ट सिटी भन्ने वाक्यांस सन २००० पछि बढी अपनाउन थालिएको भएता पनि ९० को दशकको शुरुवात देखिनै धेरै शहरहरु स्मार्ट सिटीको रुपमा विकसित हुंँदै आएका छन् । त्यस्तै स्मार्ट सिटीका घटकहरु यस प्रकार रहेका छन् । स्मार्ट पूर्वधार, स्मार्ट प्रशासन, स्मार्ट यातायात सेवा, स्मार्ट नागरिक, स्मार्ट वातावरण, र स्मार्ट जिविका रहेका छन् । वालिङ नगरपालिकाका नागरिकलाई, यस्तै किसिम्मको सेवा र सुविधा प्रदान गर्नको लागि नेपाल सरकारबाट नै यसलाई स्मार्ट सिटी बनाउन निर्णय भएको निर्वतमान नगरप्रमुख खाँणको भनाइ छ ।



कसरी सुरु भयो वालिङलाई स्मार्ट सिटी बनाउने सपना ?

२०७३ साल असार ३० गते दोस्रो नगर सभा भेलामा वालिङ नगरपालिकालाई पिङ्क कलरको शहरमा रुपान्तरण गर्ने निर्णय गरियो । किनभने स्मार्ट सिटी बनाउनको लागि पहिला पालिकाका सहर क्षेत्रमा निर्माण भएका घरहरुमा पिङ्क कलर लगाएर बेग्लै खालको पहिचान दिने निर्णय भएको थियो । त्यसैगरि उक्त योजना वालिङ जेसीसको टिमले नगरपालिकामा पेस गर्‍यो। त्यसपछि उक्त विषयलाई लिएर नगरपालिका छलफलमा जुट्यो । जेसिज टिमले गरेको निर्णय पालिकाबाट पारित भएपछि नगरपालिकाले नगरिकहरुलाई सहज होस् भनेर पिङ्क कलर किन्दा ५० प्रतिशत छुट दिने निर्णय गरेको थियो ।
अर्को कुरा वालिङलाई पिङ्क कलर बनाउनुको मुख्य कारण सन् २०२० मा स्वरेक मैदानमा भएको विश्वकप प्याराग्लाइडिङ  वालिङलाई बेग्लै किसिम्मले चिन्न सहज होस् भनेर पनि सो निर्णय गरेको खाँणको भनाइ छ । साथै उक्त शहर हुँदै सिद्धार्थ  राजमार्ग  जाने भएकाले अगामी दिनमा नेपाल घुम्न आउने पर्यटकहरुले वालिङ शहरलाई सहजै रुपमा बेग्लै पहिचानले चिनुन् भन्ने हेतुले वालिङ शहरलाई पिङ्क सिटीमा रुपान्तरण गरिएको हो ।

स्मार्ट सिटी बनाउन पहिला पिङ्क सिटीमा रुपान्तरण गर्ने सपना

वालिङमा रङ्ग सम्बन्धी विज्ञ, स्थानीय, युवा क्लब ,र अन्तराष्ट्रिय क्लबको टिम बनाएर अध्ययन गरेपछि वालिङलाई स्मार्ट बनाउन पहिला पिङ्क सिटी बनाउने निर्णय गरिएको  थियो । निर्वतमान नगरप्रमुख खाँणका अनुसार विज्ञ तथा स्थानीयको अध्ययनले स्मार्ट सिटी बनाउनका लागि  सर्वप्रथम  पिङ्क सिटी बनाउने निर्णय गरेको थियो । खाँणले भन्नुभयो , “पिङ्क कलरले तीन चिजको प्रतिनधित्व गरेको छ । प्रेमको प्रतिक ,सदभावको प्रतिक ,र आन्तरिक जागरणको प्रतिक हो । वालिङ नगरपालिकाको दोस्रो सभाबाट पहलमा  सर्वसहमतीबाट उक्त निर्णय पास भएको थियो ।’        नयाँ सहरलाई प्रतिनधित्व गर्नका लागि अन्य ठाँउहरुमा हरियो ,पँहेलो वा अन्य रंग लगाउने गरिएको  र वालिङ् मा   पिङ्क कलर लाउने निर्णय नभएको खाँणको भनाइ छ । नगरप्रमुख खाँण आफू भारतका विभिन्न सहरहरु भ्रमण गर्दा त्यहाँका हरेक शहरको कलरहरु नियालेको र आफूले पनि नगरका घरहरुलाई आर्कषक बनाउने लक्ष्यले पिङ्क कलरलाई नै नागरिक सामु प्रस्ताव राखेर यो निर्णय पारित गरेको बताउनुभयो।

पिङ्क कलर लगाउनै पर्छ वालिङका घरहरुमा

पालिकाभित्रका घरहरुमा उक्त कलर घरको बाहिरी भागमा अनिर्वाय लगाउनु पर्ने र घरको भित्री भागमा भने नागरिकले आफ्नो स्वइच्छाले लगाउन पाउने निर्णय नगरपालिकाको दोस्रो नगरसभाबाट पारित भएको थियो ।
पिङ्क कलर नेपालको आठवटा कम्पनिले उत्पादन गरेका  छन् । नगरपालिकाले आठ कम्पनिमध्ये एक कम्पनीको डिलरहरुसँग सम्झौता गरेर कलरमा ५० प्रतिशत छुट दिएको छ । त्यसैगरि नगरमा वितरण गरेको कलर गुणस्तरिय रहेको र वालिङ् नगरको लागि भनेर नै कम्पनिहरुले, एउटा छुटै खालको र्फमुला बनाएको खाँणको भनाइ छ ।

नागरिकलाई छैन ५० प्रतिशत सहुलियत

नगरपालिकाले कलरमा पटकपटक सहुलियत दिएको छ भने पनि नगरवासीहरुले उक्त सुविधा नपाएको बताउदैँ आएका छन् । त्यहाँका व्यापारी सँग कुरा गर्दा नगरपालिकाले पिङ्क कलर नगरिकलाई बेच्दा आफूहरुले कलर उद्योगबाट होलसेलमा किन्दा पाएको छुट नागरिकलाई दिएको र नगरपालिकाबाट त्यस्तो छुट नपाएको व्यापारीहरु बताउदैँ आएका छन् । त्यसैगरि नागरिकहरु भन्छन् ,हामीहरुले  घर बनायौँ , पिङ्क कलर नै लगायौँ तर नगरपालिकाबाट त्यस्तो ५० प्रतिशत छुट पाएको छैनौँ ।

पिङ्क कलर लगाउनै पर्छ ?

पिङ्क सिटी बनाउने निर्णय नगरपालिकाबाट पारित भईसकेपछि नगरपालिका भित्र रहेका घरहरुले पिङ्क कलर लगाउनै पर्ने आवश्यक रहेको छ । त्यो निर्णय गर्नु भन्दा पहिला बनेका घरहरुले पनि अनिवार्य पिङ्क कलर लगाउन पर्ने नगरपालिकाले नियम बनाएको थियो । साथै अहिले बनाएका घरहरुले समेत त्यो निर्णय अनिवार्य पालन गर्न नगरपालिकाले निर्देशन दिएको छ । यदी कुनै व्यक्तिले नगरपालिकाको निर्णयलाई पालना नगरे उक्त व्यक्तिहरुको घरको नक्सा नगरबाट पास नहुने नियम नगरपालिककाले गराएको थियो ।

पूरा भएको छैन पिंक सिटी बनाउने सपना

करिब ३ वर्ष अघि वालिङलाई पिङ्क सिटी बनाउने लक्ष्यका साथ अघि बढेको नगरले अहिलेसम्म करिब ७५ प्रतिशत घरहरुमा पिङ्क कलर लगाएर सम्पन्न गरेको छ । यस विषयमा नगर प्रसाशन अधिकृत राजन भट्टराईका अनुसार नगरलाई पिङ्क सिटी बनाउन सुरुसुरुमा निकै चुनैतिपूर्ण रहेको र मानिसहरुलाई यो कलर लगाउन सहमत बनाउन पनि निकै कठिन रहेको थियो । उहाँले भन्नुभयो , “अब मानिसहरुले यसबारे बुझिसकेको हुनाले अब आउदा दिनहरुमा केहि हदसम्म भएपनि सहज हुने छ ।’’

वर्तमान नगरप्रमुख कृष्ण खाँणले पूर्व जनप्रतिनिधिहरुले सुरु गरेका शहरको पहिचान झल्किने र जममुखी  कार्यलाई नभत्काई अघि बढ्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “स्मार्ट सिटी बनाउन २० वर्षको योजना छ । १ वर्षमा के गर्ने ? ५ वर्षमा के गर्ने ? भन्ने सम्बन्धमा हामीले योजना बनाएका छौँ । त्यै किसिमले हामी अघि बढ्ने हो । ’’

स्मार्ट सिटी बनाउनको लागि शिक्षा, स्वास्थ्य र सडकको अवस्था राम्रो हुन जरुरी रहेको खाँणको भनाइ छ । उहाँले  भन्नुभयो , “ हाम्रो योजना के हो भने २० वर्षसम्म वालिङलाई स्मार्ट सिटी बनाउने हो । नगरमा पिङ्क सिटी बनाउने कार्य बजार र गाउँ क्षेत्र गरेर करिब ७५ प्रतिशत सम्पन्न भएको छ । ’’