२० हजार भन्दा बढी भक्तजन, ६ लाख भन्दा बढी आम्दानी

फागुन २५, २०८०


नारायणप्रसाद कोइराला
२५ फागुन २०८०

महाशिवरात्रीको पावन अवसरमा स्याङ्जाको प्रसिद्ध छाँयाक्षेत्र मन्दिरमा २० हजार भन्दा बढी भक्तजनहरूले दर्शन गरेका छन्।पर्वत, पाल्पा, पोखरा र बाग्लुङबाट समेत दर्शनार्थी आएको र जिल्ला भित्र र बाहिरका गरेर २० हजार भन्दा बढी भक्तजनहरूले मन्दिरमा दर्शन एवं पूजाआजा गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिए।

दर्शनार्थीहरूको भीड व्यवस्थापन र सुरक्षाको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्वयंसेवकहरू परिचालन गरिएको थियो। विशेषगरी ज्योती थापाको नेतृत्वमा रामभञ्जाङ युवा क्लबका सदस्यहरूले मन्दिर सरसफाईमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। छाङ्छाङ्दी युवा क्लब, जनकल्याण आमा समूह , देविकल्याण आमा समूह, उपकार आमा समुह, सहनशील आमा समूह लगायतका सामाजिक संघसंस्थाहरूले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए।

कार्य समितिका सहसचिव एवं आर्थिक सहयोग संकलन संयोजक शोभाकान्त पौडेलका अनुसार शुक्रबार ६ लाख ४६ हजार ३ सय ३४ रूपैयाँ आम्दानी भएको छ। उनका अनुसार सहयोग रसिदबाट ७३ हजार ५ सय ८४, शिवलिङ्गबाट ३० हजार १ सय ५०, द्रुत सेवाबाट २ लाख ४७ हजार ६ सय, स्टलबाट ७५ हजार १ सय ५०, भजन मण्डलीबाट ९२ हजार ६ सय ५० ,धान बिक्रीबाट ५० हजार, दानपेटीकाबाट ८१ हजार ७ सय र पार्किङबाट ७ हजार ५ सय आम्दानी भएको हो।

द्रुत सेवाका नाममा भक्तजनबाट रू २ सयका दरले उठाइएको विषयमा स्मार्ट अखबारसँग बोल्दै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले श्रद्धालु भक्तजनहरूको इच्छा अनुसारनै जिल्ला बाहिरबाट आउने, हतारमा आउने दर्शनार्थीका लागि मात्रै उक्त सेवा उपलब्ध गराइएको र उक्त आम्दानी छाँयाछेत्र मन्दिरको विकास र व्यवस्थापनमा खर्चिएको बताए। अध्यक्ष श्रेष्ठले मन्दिरको आम्दानी खर्च विवरण पारदर्शी रहेको दाबी गरे। पर्व विशेषमा हुने भक्तजनहरूको भीडलाई व्यवस्थित गर्न मन्दिर व्यवस्थापनले सक्दो प्रयास गरिरहेको अध्यक्ष श्रेष्ठको भनाई छ।

तर भक्तजनहरूले घण्टौं लाइनमा बस्नुपरेको र राजनीतिक पहुँच भएका व्यक्तिहरू र मन्दिर व्यवस्थापनसँग जोडिएका आफन्तजनहरूले लाइनमा बस्नु नपरेको गुनासो गरेका थिए।