छाँयाक्षेत्रधाममा महाशिवरात्री मेलाको तयारी पूरा

फागुन १६, २०७८


१६ फागुन २०७८

स्याङ्जाको प्रसिद्ध एवं पवित्र छाँयाक्षेत्रधाममा महाशिवरात्रीको मेलाको सम्पूर्ण तयारी पूरा भएको छाङ्छाङ्दी छाँयाक्षेत्र(शिव मन्दिर)व्यवस्थापन समितिले जनाएको छ।जिल्लाको मध्यभागमा सिद्धार्थ राजमार्गको समिपमै अवस्थित यस पवित्र धार्मिक क्षेत्रमा महाशिवरात्रीमा हजारौं तिर्थयात्रीहरू आउने गर्दछ्न्।यो वर्ष २० हजार भन्दा बढी श्रद्धालु भक्तजनहरूको अपेक्षा गरिएको र सोही अनुसार छाँयाक्षेत्रधामको व्यवस्थापनको चाँजोपाँजो मिलाइएको छाङ्छाङ्दी छाँयाक्षेत्र(शिव मन्दिर)व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिनुभयो। मन्दिर परिसर सरसफाइ, रंगरोगन र ध्वजापतका टाग्ने काम सकिएको छ। उखु स्टलहरू सबै बुकिङ भैसकेको र व्यापारीक स्टलहरू भने बुकिङकै क्रममा रहेको जानकारी दिंदै अध्यक्ष श्रेष्ठले महाशिवरात्री मेला व्यवस्थापनका लागि ५१ सदस्यीय व्यवस्थापन समिती गठन गरिएको जानकारी दिनुभयो।श्रद्धालु भक्तजनहरूको व्यवस्थापनको लागि भीरकोट जेसिजले स्वयंसेवकको भूमिका निर्वाह गर्ने छ। असहाय, अशक्त र ७० वर्ष माथिका जेष्ठ नागरिकहरूको लागि निशुल्क द्रुत तरीकाबाट दर्शन तथा स्नान गर्न सक्ने व्यवस्था मिलाइएको छ । द्रुत तरिकाले दर्शन तथा स्नान गर्न चाहने अन्य दर्शनार्थी/ भक्तजनहरूले १५० रूपैयाँ तिर्नुपर्ने छ। बिहान ३ बजेदेखि नै श्रद्धालु भक्तजनहरू पूजाआजा र दर्शनका लागि आउने हुनाले स्वयंसेवकको भूमिकामा रहन चाहनेलाई आजै सम्पर्कमा आउन आग्रह गर्दै अध्यक्ष श्रेष्ठले स्वयंसेवक  सबैलाई जतिसक्दो सबेरै उपस्थित हुन समेत अनुरोध गर्नुभएको छ।महाशिवरात्री मेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन सबैलाई आ- आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न समेत अनुरोध गर्नुभएको छ।