कपाल काटेरै अधिकृतको भन्दा बढी कमाई

बैशाख ०७, २०७९


स्मार्ट अखबार संवाददाता
७ बैशाख २०७९

आजभोलि पढेलेखेका युवायुवतीहरूले मनग्य कमाउनका लागि जापान, कोरिया, अमेरिका, अष्ट्रेलिया ताक्ने गर्छ्न्।आफ्नै गाउँठाउँमा श्रम गर्न उनीहरू लाज मान्छन्।कपाल काट्ने, कपडा सिलाउने, व्यवसायिक खेती र पशुपालन आदि जस्ता काममा कमाइ राम्रो भएपनि उनीहरूको नजरमा यी तल्लो स्तरका काम हुन्।किनभने अहिलेको हाम्रो शिक्षाले श्रम र सिपको सम्मान गर्न सिकाएकै छैन्।शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने काराखाना बनीरहेका छ्न्।





तर श्रम र सिपको सम्मान गर्न सक्ने हो भने आफ्नै गाउँठाउँमा बसेर नेपालको अधिकृत भन्दा बढी कमाउन सकिन्छ भने उदाहरण बन्नुभएको  छ स्याङ्जाको बयरघारीमा सैलुन व्यवसाय गर्दै आउनुभएका असरफ अलि मिया। २४ वर्षीय युवा मियाले बयरघारीमा आँधिखोला हेयर कटिङ सेन्टर संचालन गर्नुभएको छ।भीरकोट – १ जगतपुरका स्थायी बासिन्दा मिया धेरै कमाउने लोभमा १९ वर्षकै उमेरमा कतार हानिनुभयो। कतारमा हाउस अफ रोयल्टीमा वेयटर जागिर गर्नुभएका उहाँले १२/१४ घण्टा खटिदा मुस्किलले ३०- ४० हजार कमाउनुहुन्थ्यो। अहिले सैलुन व्यवसाय गर्दा दैनिक ८-१० घण्टा काम गर्दा नेपाल सरकारको अधिकृतको भन्दा बढी कमाइ गर्नुहुन्छ।अधिकृतको मासिक तलब रू ३७,९९० हुन्छ तर अलि मियाले मासिक ५०-६० हजार रूपैयाँ कमाइ हुने गरेको बताउनुहुन्छ।आफ्नो परिवारसँग रमाउँदै राम्रो आम्दानी गर्न पाएकोमा  मख्ख हुनुहुन्छ मिया।१ लाख लगानीमा सैलुन संचालन गर्नुभएका अलि मियाले लोभलाग्दो कमाइका कारण अरू युवायुवतीलाई पनि सैलुन व्यवसाय अगाल्न सुझाव दिनुहुन्छ। उहाँको मनमा विदेश जाने चाहना पटक्कै छैन।कपाल काट्न सिक्न चाहने जोकोहीलाई निशुल्क तालिम दिन समेत तयार रहेको बताउनुहुने उहाँले श्रम र सिपको सम्मान भए स्वदेशमै कमाउन र रमाउन सकिने बताउनुहुन्छ।