स्याङ्जामा एसईईका परीक्षार्थी घट्दो क्रममा

बैशाख ०७, २०७९


अमृत अर्याल,स्याङ्जा
७ बैशाख २०७९



कोभिड महामारीका कारण विगत दुई शैक्षिक सत्र विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई यो वर्षबाट पुन: विगतको जस्तै परीक्षा केन्द्रहरुमार्फत् सञ्चालन हुन लागेको छ । तर स्याङ्जामा भने हरेक बर्ष परीक्षार्थीको संख्या घट्दै गैरहेको छ । गतबर्ष एसईई परीक्षाका लागि ५ हजार २ सय परीक्षार्थीले आवेदन दिएका थिए । तर यो बर्ष भने जिल्लाबाट ९६ प्राविधिक धारका, ५१ ग्रेडबृद्धि र ४ हजार ७ सय ७६ साधारणतर्फ गरी ४ हजार ८ सय २७ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।



एसईई सञ्चालनको जिम्मेवारी पाएको शिक्षा विकास तथा समन्वय ईकाई स्याङ्जाले यो वर्षको लागि जिल्लामा तय भएको परीक्षा केन्द्र सार्वजनिक गर्दै ३५ वटा परीक्षा केन्द्रहरुबाट परीक्षा दिने व्यवस्था गर्न लागिएको जनाएको छ । आगामी वैशाख ९ बाट २० गतेसम्म देशैभर एकसाथ सञ्चालन हुन लागेको परीक्षामा स्याङ्जाबाट ४ हजार ८ सय विद्यार्थीहरु सहभागी हुदैछन् ।

सरकारले एसईईलाई केन्द्रको जिम्मेवारीबाट प्रदेशलाई हस्तान्तरण गर्ने बताईरहेपनि कानुन अभावमा यो वर्षको परीक्षा राष्ट्रिय परीक्षा बोर्डमार्फत् सञ्चालन हुन लागेको शिक्षा विकास तथा समन्वय ईकाई स्याङ्जाका प्रमुख गुरुप्रसाद पौंडेलले बताउनुभयो। कोभिड महामारी र स्थानीय निकायको नजिकिँदो निर्वाचनबीच सञ्चालन हुन लागेको एसईई परीक्षामा यो वर्षबाट उत्तिर्ण हुन ३५ % अनिवार्य गरिएको छ ।

ईकाई प्रमुख पौंडेलका अनुसार विद्यालयबाट विगत दुई वर्षमा भएका आन्तरिक मूल्याङ्कनको स्तरीयतामा प्रश्न उठेका कारण केन्द्रहरुबाटै परीक्षा सञ्चालन गर्न लागिएको हो । “विद्यालयमा गर्दा धेरै जनशक्ति लाग्ने र परीक्षाको स्तरीयतामा प्रश्न उठेका कारण केन्द्रमै गर्ने भन्ने छ,“ पौंडेलल भने “विद्यालयमा गर्दा राम्रो नतिजा आएन भन्ने आयो।” परीक्षा र सम्परीक्षण स्तरीय नभएको गुनासो पछि परीक्षा केन्द्रहरुबाटै सञ्चालन गर्ने निर्णय भएको पौडेलको भनाइ छ ।

प्याब्सन स्याङ्जाका अध्यक्ष मेघराज गैह्रेले भन्नुभयो “केन्द्रले गरेको सबै ठिक हुन्छ, तलकाले नराम्रो भन्ने मानसिकताले त शिक्षा प्रणाली कसरी सुध्रिन्छ र ? हामीले विद्यालय, शिक्षक र स्थानीय तहलाई जिम्मेवार बनाउने हो।”