नगरपालिकाद्वारा विद्यालयमा स्वास्थ्य सामाग्री हस्तान्तरण

असोज ११, २०७८


आश्विन ११, सम्झना अर्याल,



भीरकोट नगरपालिकाले वडा नं ६ सुन्दरबजार अवस्थित बालोदय माध्यमिक विद्यालयमा स्वास्थ्य सामग्री वितरण गरेको छ।नगर प्रमुख छायाराम खनाल,शिक्षा शाखा प्रमुख विष्णु प्रसाद कोइराला र खिलुङ् देउराली स्वास्थ्य चौकीका प्रमुख युक्तनारायण अर्याल सहितको टोलीले एक औपचारिक कार्यक्रम गरि विद्यालयका प्रिन्सिपल अमृत अर्याललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो। ४००० थान मास्क, १००० थान सेनिटरी प्याड, ४ लिटर स्यानिटाइजर ,४ दर्जन साबुन प्रदान गरिएको विद्यालयका भाइस प्रिन्सिपल मणि प्रसाद अर्यालले जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै नगर प्रमुख खनालले स्थानीय सरकारले निजी र सरकारी विद्यालयका विद्यार्थीहरू बिचमा कुनै विभेद नगर्ने बताउँदै बालमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनमा नगरपालिका प्रतिबद्ध रहेको जोड दिनुभएको थियो।स्वास्थ्य चौकी प्रमुख अर्यालले मास्कको सही प्रयोग र पुन: प्रयोगका बारेमा विद्यार्थीहरूलाई सचेतना प्रदान गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल अमृत अर्यालले बालबालिकाको स्वास्थ्य प्रती सचेत बन्दै अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरेकोमा नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभएको थियो। शिक्षा शाखा प्रमुख कोइरालाका अनुसार भीरकोटका २ दर्जन भन्दा बढी विद्यालयहरूमा नगरपालिकाले स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ। बाँकी विद्यालयमा पनि विद्यार्थी संख्याका आधारमा यहि असोज महिना भित्र स्वास्थ्य सामाग्री वितरण गरिने बताउनुभयो। स्कुल क्याप्टेन रीता अर्यालले संचालन गरेको कार्यक्रममा कक्षा १० कि छात्रा सम्झना अर्यालले नगरपालिका प्रमुख तथा सहभागीहरूलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो। स्याङ्जाकै अन्य पालिकाहरूमा निजी र सामुदायिक विद्यालयलाई स्थानीय सरकारले हेर्ने दृष्टिकोण र गर्ने व्यवहार विभेदपूर्ण रहेको अवस्थामा भीरकोटमा भने समान व्यवहारको प्रयास गरिदै आएको छ।नगरपालिकाले संचालन गर्ने हरेक अतिरिक्त क्रियाकलापमा सामुदायिक र निजी विद्यालयहरूलाई सहभागी गराइँदै आएको छ। नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक “हाम्रो भीरकोट” पनि सामुदायिक र निजी दुबै विद्यालयहरूलाई निशुल्क प्रदान गरिने बताइएको छ।