आहा ! यस्तो पो सरसफाई

असोज ११, २०७९


स्मार्ट अखबार संवाददाता
११ असोज २०७८

विज्ञापन
बिज्ञापन
बिज्ञापन

स्याङ्जा बयरघारीको भू.पू सैनिक कम्युनिटी एकेडमीमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू घटस्थापनाको भोलिपल्ट मंगलबार बिहान विद्यालय जाँदा दंग परे। उनीहरूलाई स्कुल जाने सडक उछारिलो र सफा देख्दा सधै हिड्ने सडक भन्दा अर्कै सडकमा हिडेको जस्तो अनुभूति भयो । साँच्चिकै दशैं आएको महसुस भयो। कक्षा १२ मा अध्ययनरत अभिषेक भण्डारीले भन्नुभयो, ” एकैदिनमा कति धेरै परिवर्तन भएछ। सडकका दाँया बाँया रहेका बाँसघारी, झाडी, बुट्यान रूखहरू काटिएको र बाटो पनि सफा भएको देखेर खुशी लाग्यो। बजार क्षेत्र आज निकै सफा देखिएको छ।”

कन्साइन्स आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल साजन परियार पनि बयरघारी बजारको मुख्य बजार क्षेत्रको सरसफाइ देखेर अचम्ममा पर्नुभयो। झाँडी , बुट्यान र फोहरले साँगुरिएको सडक आज फराकीलो र सवारीमैत्री भएको अनुभूति भयो उहाँलाई। उहाँ भन्नुहुन्छ, ” सडकको दाँयाबाँया सफा देख्दा अर्कै बाटो हिडेजस्तो लाग्यो। स्थानीय सरकार र जनताले चाहने हो भने परिवर्तन हुन बेरै लाग्दो रहेनछ।”

स्मार्ट अखबारद्वारा जनहितमा जारी सन्देश



भीरकोट नगरपालिकाको मुख्य बजार क्षेत्र सफा र उछारिलो हुनुको मुख्य कारण हो धार्मिक संस्था सन्त निरंकारी मण्डल, बयरघारी, स्थानीय सरकार र स्थानीय जनताको सहभागितामा सम्पन्न भएको सडक सरसफाइ कार्यक्रम। दशैंको घटस्थापनको दिन संन्त निरंकारी मण्डलको सक्रियतामा बयरघारीको प्रगतीटोल देखि ठाडोलाइन सम्मको सिद्धार्थ राजमार्गको दाँयाबाँया सरसफाइ भयो। प्रगतिटोल टोल बिकास संस्थाका अध्यक्ष एवं संन्त निरंकारी मण्डलका इन्चार्ज कुल बहादुर के.सी.ले संयोजन गर्नुभएको सरसफाइ कार्यक्रममा करिब ४० जना स्वयंसेवकहरू कुचो, बोरा, बेल्चा सहित स्वतस्फूर्त रूपमा सडकमा उत्रिनुभएको थियो। हरेक सामाजिक काममा स्वयंसेवकको भूमिका निर्वाह गर्न स्वतस्फूर्त रूपमा उपस्थित हुने सन्त निरंकारी मण्डल बयरघारीको स्थापना २०५५ असार १ गते भएको थियो। सहभागिको हौसला बढाउन नगर प्रमुख गोबिन्द कुमार कर्माचार्य, वडा नं १ का अध्यक्ष दिपेन्द्र के.सी. ,२ का वडा अध्यक्ष श्यामकाजी अधिकारी पनि सडकमै खटिनुभयो। देबीकल्याण आमा समूह र जनकल्याण आमा समुहका सदस्यहरू पनि सडक सरसफाइमा जुट्नुभयो।

विज्ञापन

सरसफाइमा डोजर सहित सडकमा खटिनुभएका वडा नं २ का वडा अध्यक्ष  अधिकारीले भन्नुभयो, ” जनताको साथ र सहयोग पाउँदा सडकको दाँयाबाँया रहेका रूख, बाँस , झाडी हटाउन सजिलो भयो। स्थानीय आमा समुहका सदस्यहरूले पनि सहयोग गर्नुभयो। सडक दुर्घटना न्यूनीकरण गर्न र डेङ्गुको प्रकोप नियन्त्रण गर्ने उद्देश्यले सरसफाइ गरिएको हो।” उहाँका अनुसार आज वडा नं २ को झारूङ्खोला सम्मका सडक किनारका झाडी, बुट्यान हटाइने छ। बोर्ड बैठकबाटै निर्णय गरेर सडक र बजार सरसफाइ गरिएको उहाँको भनाइ छ।