वालिङ नगरपालिकालाई ५ हजार डलरको अन्तर्राष्ट्रिय पुरस्कार

असोज २४, २०८०


स्मार्ट सम्वाददाता, वालिङ

२४ असोज २०८०, बुधबार

स्याङ्जाको वालिङ नगरपालिकाले ५ हजार डलरको अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ। दिगो विकासको लक्ष्य ६.२ अनुसार वालिङ नगर क्षेत्रको फोहमैला व्यवस्थापन गरी सरसफाइको क्षेत्रमा उदाहरणीय काम गरेबापत नगरपालिकाले ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड २०२३’ जितेको हो।

एसिया प्यासिफिक क्षेत्रका संयुक्त नगरहरूको स्थानीय सरकारहरूको समूह ‘युनाइटेड सिटिज एण्ड लोकल गभरमेन्ट्स एसिया प्यासिफिक’ ले उक्त अवार्ड वालिङ नगरपालिकालाई प्रदान गर्ने निर्णय गरेको हो । अक्टोबर ६ मा संस्थाका महासचिव डा बेर्नाडिया इरावती टीजन्द्रावतीले नगर प्रमुख कृष्ण खाँणलाई बधाई पत्र मार्फत वालिङ नगरपालिकाले अवार्ड जितेको बताएका हुन्। अवार्ड वितरण १३–१५ नोभेम्बर २०२३ मा चीनको यीवु सहरमा वितरण हुनेछ । एक जनाको लागि अवार्ड लिन जाँदाको खर्च संस्थाले नै ब्यहाेर्ने छ । आतेजाते टिकट मूल्य र खाने बस्ने सुविधा संस्थाले प्रदान गर्ने बताइएको छ ।

युएनडिपी लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले नगरपालिकाले फोहोर मैला व्यवस्थापन र सरसफाइको क्षेत्रमा गरेको कामको मूल्याङ्कनका आधारमा उत्कृष्ट नगरपालिका घोषित भएको नगर प्रमुख कृष्ण खाँणले बताए। उनले  नगरभित्र उत्सर्जन हुने विभिन्न प्रकृतिका फोहोरमैलाको सही व्यवस्थापन गरी फोहोरलाई मोहरमा रूपान्तरण गर्ने अभियान पुरस्कृत भएको बताए। स्मार्ट अखबारसँग संक्षिप्त कुरा गर्दै नगर प्रमुख खाँणले अघिल्लो स्थानीय सरकारले गरेको फोहरमैला व्यवस्थापन र सरसफाईको कामलाई वर्तमान सरकारले निरन्तरता दिदै थप व्यवस्थित गरेको जानकारी दिए । उनले कर्मचारी प्रशासन, वालिङ नगरबासी , निवर्तमान र वर्तमान जनप्रतिनिधिहरू र राजनीतिक दलको सहकार्य र तदारूकतले गर्दा नगर पुरस्कृत भएको बताए।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी