रेडक्रसको सचेतनामूलक कार्यक्रम सम्पन्न

मङि्सर ०३, २०७८


म‌ंसिर ०३, भीरकोट खबर

विश्व शौचालय दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा स्याङ्जाले भीरकोट नगरपालिकाका २ वटा माध्यमिक विद्यालयहरूमा शौचालयको महत्त्वका विषयमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । वास अधिकृत घनश्याम पौडेल, लेखापाल मित्र लम्साल, वास मोबिलाइजर सुजता अर्याल सहितको टोलीले भाग्योदय माध्यमिक विद्यालय, उजेलीडाँडा र बालोदय माध्यमिक विद्यालय, सुन्दरबजारमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो ।

सचेतनामूलक कार्यक्रममा बोल्दै वास अधिकृत घनश्याम पौडेलले विद्यार्थीहरूलाई विद्यालयको शौचालय सधैं सफा राख्न आग्रह गर्नुभएको थियो । खुल्ला ठाउँमा दिशापिसाब गर्दा विभिन्न माध्यमबाट दिशापिसाब हाम्रो मुखसम्म आइपुग्ने हुनाले शौचालयको प्रयोग अनिवार्य रुपमा गर्नुपर्ने बताउनुभएको थियो।खुल्ला ठाउँमा दिशापिसाब गर्दा आउँ, रगतमासी, कमलपित्त, पोलियो, म्यादी ज्वरो, हैजा, झाडापखाला र जियाडियासिस लगायतका सरूवा रोगहरू लाग्ने बताउँदै उहाँले विद्यार्थीहरूलाई विद्यालय र आफ्नो घरको शौचालय प्रयोग गरेपछि पानीको प्रयोग अनिवार्य रूपमा गर्न र सेनेटरी प्याड प्यानमा नराख्न समेत सचेतना दिनुभएको थियो।उहाँले छात्राहरूलाई महिनावारीको समयमा ४ देखि ६ घण्टाको बिचमा प्याड फेर्नु अत्यावश्यक रहेको बताउनुभएको थियो।


बालोदय मा.वि. मा भएको सचेतनामूलक कार्यक्रममा बोल्दै उहाँले विद्यालयको शौचालय तुलनात्मक रुपमा सफा र व्यवस्थित रहेको खुसी व्यक्त गर्दै विद्यालय परिसर र शौचालय सदैव सफा राखेर उदाहरणीय कार्य गरेकोमा विद्यालयको प्रशंसा समेत गर्नुभएको थियो। सचेतनामूलक कार्यक्रममा बोल्दै जुनियर रेडक्रस सर्कल, बालोदयका उपाध्यक्ष प्राञ्जल तिवारीले सचेतनामूलक कार्यक्रममा आफूले सिकेका कुरा सहभागीहरू माझ प्रस्तुत गर्नुभएको थियो।