राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा स्याङ्जाका ५ दर्जन बढी विद्यालयहरू छनोट
०४ फागुन, २०७८
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा स्याङ्जाका ५ दर्जन बढी विद्यालयहरू छनोट भएका छ्न्। सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गर्दा स्याङ्जाका ६२ वटा विद्यालयहरू छनोट भएका हुन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हिजाे भएको बैठकले विद्यालय छनोट गरेको हो । छानिएकामध्ये चारकोठे भवन ९७६, दुई कोठे भवन ९६६, आईसीटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ । स्याङ्जामा अर्जुनचौपारी गाउँपालिकामा ३ वटा, आँधिखोला गाउँपालिकामा ८ वटा, कालीगण्डकी गाउँपलिकामा ७ वटा, बिरुवा गाउँपालिकामा ७, फेदीखोला गाउँपालिकामा २, हरिनास गाउँपालिकामा ३ वटा, पुतलीबजारमा ७ वटा, वालिङ नगरपालिकामा ८ वटा, भीरकोट नगरपालिकामा ३ वटा, गल्याङ नगरपालिकामा ९ वटा, चापाकोटमा ५ गरि जम्मा ६२ वटा विद्यालयहरू राष्ट्रपति शैक्षिक सुधारका छनोट भएका हुन्। शिक्षा मन्त्रालयका अनुसार छनोटमा परेका विद्यालयहरूले चारकोठे भवन निर्माणका लागि प्रति विद्यालय ३६ लाख, दुईकोठे भवन निर्माणका लागि १८ लाख, आईसीटी ल्याब व्यवस्थापनका लागि छ लाख ५० हजार अनुदान सहयोग प्राप्त गर्नेछ्न् ।