खुल्ला भलिबल प्रतियोगिता एवं रमाइलो मेला सुरू

जेठ १०, २०८१     एनपी कोइराला


स्याङ्जाको बालमैत्री नगरपालिका भीरकोटमा नगरपालिकामा  खुल्ला पुरूष भलिबल प्रतियोगिता एवं रमाइलो मेला सुरू भएको छ। २५६८ औं बुद्ध जयन्तीको अवसरमा बयरघारी पिस युथ क्लबले  भीरकोट  खेलमैदानमा रमाइलो मेला आयोजना गरेको हो।क्लबको आयोजनामा  जेठ १० गतेदेखि २० गतेसम्म संचालन हुने  रमाइलो मेलाको उद्घाटन नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले गरेका हुन्। दिप प्रज्ज्वलन र खेलाडीहरूलाई भलिबल हस्तान्तरण गरेर नगर प्रमुख कर्माचार्यले मेलाको उद्घाटन गरेका हुन्।

मेलाको उद्घाटन गर्दै नगर प्रमुख कर्माचार्यले रमाइलो मेलालाई सफल बनाउन सम्पूर्ण भीरकोटबासी लागि पर्नुपर्ने बताए। खेल र रमाइलो मेलालाई सफल बनाउन पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अनुशासित र सभ्य तरिकाले मेला र खेल प्रतियोगिता संचालन गर्न आयोजक बयरघारी पिस युथ क्लबलाई अनुरोध गरेका थिए।

 

आजको उद्घाटन समारोहमा कलाकार सृष्टि सुनार र स्थानीय कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए भने राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष  राजन कार्कीले सांगीतिक प्रस्तुति दिएका थिए।



 `समाज र राष्ट्र विकासको लागि युवा एकता, अनुशासन, विकास र गतिशीलता´ भन्ने मुल नारासहित स्थापित क्लबले रमाइलो मेला र खेलकुद कार्यक्रम गरेको हो। भलिबल प्रतियोगिताको प्रथम पुरस्कार १ लाख १० हजार, द्वितीय पुरस्कार ६५ हजार र तृतीय पुरस्कार ३५ हजार र सान्त्वना पुरस्कार २५ हजार रहेको छ।

क्लबले हरेक वर्ष बुद्ध जयन्तीको अवसरमा खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ।२५६८ औं बुद्ध जयन्तीको  अवसरमा खेलकुद, कला र संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ भीरकोट खेलमैदानमा १० दिने रमाइलो मेला आयोजना   गरिएको क्लबका अध्यक्ष दिल बहादुर मगर(सागर)ले जानकारी दिए ।

रमाइलो मेलामा खुल्ला पुरुष भलिबल प्रतियोगिताका साथै  विद्यालय स्तरीय नृत्य प्रतियोगिता, रेष्टुरेन्ट , कपडा, भाँडाकुँडाक व्यापारीक स्टलहरु, रेल, डुङ्गा,पिङ लगायतका मनोरञ्जनात्मक बालउद्यानका सामाग्री छन्। रमाइलो मेलालाई उत्सवमय बनाउन   स्थानीय कलाकार र  राष्ट्रिय कलाकारहरुको बेजोड सांगितिक प्रस्तुति समेत रहने छ ।

बिहिबार भएको उद्घाटन समारोहमा  निवर्तमान नगर प्रमुख छायाराम खनाल, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदिश प्रसाद कोइराला,नगर प्रवक्ता दिपेन्द्र के.सी., राष्ट्रिय प्रजातन्त्र पार्टीका हर्क बहादुर रोका, नेपाली काँग्रेस भीरकोटका सभापति याम प्रसाद अधिकारी, नेकपा एमाले भीरकोटका अध्यक्ष विश्वनाथ अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश उच्चै ठकुरी, नगर उपप्रमुख भगवती रेग्मी अर्याल लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।वक्ताहरूले मेलालाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

रमाइलो मेलाको मुख्य प्रायोजक भीरकोट नगरपालिका, गण्डकी प्रदेश खेलकुद परिषद र खिलुङ् कालिका एग्रो फम रहेका छन्।