सिद्धार्थ राजमार्ग मर्मत सम्भारमा प्र.जि.अ.को सक्रियता
स्याङ्जा, कार्तिक १६
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले स्याङ्जा जिल्लामा पर्ने सिद्धार्थ राजमार्गको मर्मतका लागि विशेष सक्रियता देखाउनु भएको छ।तिहारकै पूर्वसन्ध्यामा आज उहाँले सरोकारवाला स्थानीय तहलाई अनुरोधात्मक निर्देशन जारी गर्दै सम्भव भएका ठाउँमा प्रजिअ स्वयं उपस्थित भई सडक सम्भार तथा मर्मत अभियान सफल बनाउन आग्रह गर्नुभएको छ। सडक मर्मत तथा सम्भारलाई अभियानकै रुपमा संचालन गर्न आज प्रजिअकै अध्यक्षतामा र जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासको प्रमुख आतिथ्यतामा स्थानीय निकायका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुसहितको बैठक समेत बसेको थियो।
सो बैठकबाट स्याङ्जाको सिमाना कुभिण्डेदेखि राम्दीसम्म रहेको सिद्धार्थ राजमार्गको सडक खण्डमा रहेका खाल्डाखुल्डीको कारणले सवारी आवागमनमा असहजता भई दुर्घटना बढेको प्रति गम्भीर ध्यानाकर्षण भएको र सुधारका लागि आवश्यक पहलका सम्बन्धमा छलफल भएको प्रजिअ पौडेलले बताउनुभएको छ ।
बैठकले सडकमा रहेका खाल्डाखुल्डी पुर्नका लागि कार्तिक १७ गते बिहान १० बजेदेखि सडक डिभिजन कार्यालय, सम्बन्धित पालिका र सुरक्षा निकाय, राजनैतिक दल, विभिन्न सङ्घ, संस्था लगायतको संलग्नता र समन्वयमा सडकका खाल्डाखुल्डी पुर्ने कार्यलाई अभियानका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ।यसका लागि सम्बन्धित स्थानीय तह तथा सरोकारवाला सबैलाई आफूसँग भएका स्रोत र साधनहरू प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। उद्योगी /व्यवसायी , राजनैतिक दल, सरकारी तथा गैरसरकारी कार्यालय, यातायात व्यवसायी कर्मचारी, सुरक्षाकर्मी र पत्रकारहरूलाई समेत सडक मर्मत अभियानमा सहभागी हुन अनुरोध गरिएको छ।मर्मत अभियानलाई सफल बनाउन सरोकारवाला सबैलाई आफूसँग भएको निर्माणजन्य सामग्रीहरु, डोजर, लोडर, रोलर, टिप्पर गैची बेल्चासहित उपस्थित हुन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अनुरोध गरेको छ ।