पुतलीबजार नगरपालिकाद्धारा आयुर्वेदिक औषधी वितरण
भीरकाेट खबर डेस्क
पुतलीबजार नगरपालिकाले पालिका भित्र रहेका कोरोना संक्रमितहरुलाई उच्च मनोबल बनाउन आयुर्वेदीक औषधी वितरण शुरुगरेको छ । नगरपालिकाले जिल्ला सरदमुकमा र अर्जुनचौपारी बजारमा रहेका आयुर्वेदीक स्वास्थ्य कार्यालय मार्फत औषधी वितरण गर्दै आएको हो । पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले पछिल्लो समयमा दोस्रो भेरिएन्टको कोरोना समाज मै फैलिरहेको र कोरोनालाई न्यूनिकरण गर्न आयुर्वेदिक औषधी वितरण गरिएको बताउनुभयो । नगरप्रमुख क्षेत्रीले पालिकामा हाल सम्म २९ जना कोरोना संक्रमित रहेको बताउदै सबै कोरोना संक्रमित विरामीहरुकहाँ पुर्याउने जानकारी दिनुभयो । उहाँले आयुर्वेदिक औषधीले कुनै असर नगर्ने हुनाले सबैले प्रयोग गर्न सकिने बताउनुभयो ।
पुतलीबजारमा दोस्रो चरणको भेरिएन्ट कोरोनाबाट २९ जना विरामी परेका छन् । कोरोना संक्रमितहरु होम आईसोलेसनमा बस्दै आएको र उनीहरुको स्वास्थ्य सामान्य रहेको पालिकाले जानकारी दिएको छ । विरामीहरुलाई पुतलीबजार नगरपालिकाको वडा नम्बर १३ बाट आयुर्वेदीक औषधी दिन शुरु गरिएको १३ का वडा अध्यक्ष तथा पुतलीबजार नगरपालिकाका नगरप्रबक्ता ख्यामनारायण अधिकारीले जानकारी दिनुभयो । उहाँले औषधी वितरणले विरामीहरुको मनोवल उच्च भएको बताउनुभयो । साथै पुतलीबजार नगरपालिकाका स्वास्थ्यकर्मीहरुले संक्रमितको घरघरमा गई उनीहरुको स्वास्थ्य अवस्था बुझ्दै आएका छन् ।