पृथ्वी जयन्तीको अवसरमा वक्तृत्वकला

पुष २७, २०८०


स्मार्ट संवाददाता 

२७ पुस २०८०

विश्व हिन्दु युवा संघ स्याङ्जाले  पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा  वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ। “नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको भुमिका ” विषयक  वक्तृत्वकला कार्यक्रम भीरकोट नगरपालिकको छायाछेत्र मन्दिरमा सम्पन्न भएको हो।

प्रतियोगितामा दहथुम माध्यमिक विद्यालयका छात्रा   सम्झना अधिकारी प्रथम ,घण्टे माध्यमिक विद्यालयका छात्रा सुस्मिता शर्मा  द्वितीय भएका छन् भने  महेन्द्र ज्योती मा.वि का  छात्रा  बबिता सार्की र राजेन्द्र भवानी मा.वि.  को छात्रा कृतिका पङ्गेनीले तृतीय स्थान हासिल  गरेका छन् ।कार्यक्रममा वालिङ , भीरकोट र अर्जुन चौपारीका  एक दर्जन विद्यालयले  सहभागीता जनाएका थिए।कार्यक्रमको निर्णायकको  भूमिका मिलन समीर र राजेन्द्र खनालले निर्वाह गरेका थिए ।

विश्व  हिन्दु युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष नबराज पौडेलको अध्यक्षता र भीरकोट  नगरपालिकाका नगर प्रवक्ता दिपेन्द्र के.सी. को  प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा भीरकोट र वालिङका जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानका बारेमा स्मरण गर्न र नयाँ पुस्तालाई जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बताए। अध्यक्ष पौडेलले  राष्ट्र निर्माता शाहले ५२ वटा ठूला साना राज्यको एकीकरण गरी सबै नेपालीलाई एकताको सुत्रमा बाधेको हुँदा उनको योगदानलाई सबैले स्मरण र सम्मान गर्नुपर्ने धारणा राखेका थिए।