राष्ट्रपति रनिङ शिल्डमा सहिद शुक्र प्रथम 

मङि्सर २१, २०८०


स्मार्ट संवाददाता, भीरकोट 

२१ मंसिर २०८०, बिहिवार 

भीरकोट नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ८ स्वर्ण, ७ रजत र ३ कास्य पदक प्राप्त गर्दै सहिद शुक्र माध्यमिक विद्यालय प्रथम भएको छ। मंसिर १६ देखि १९ गतेसम्म भीरकोट खेलमैदानमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा  १७ वटा माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा भाग्योदय माध्यमिक विद्यालयले दोस्रो स्थान प्राप्त गरेको छ।भाग्योदय मा.वि. ले   ३  स्वर्ण, ९ रजत र ३ कास्य पदक प्राप्त  गरि दोस्रो स्थान सुरक्षित गरेको थियो। यसैगरी भू.पू. सैनिक कम्युनिटी एकेडमीले  ७ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरि तेस्रो स्थान प्राप्त गरेको छ।

तर प्रतियोगितामा सिरूखर्क  जोगिस्थान मा.वि., दभुङ्ठाटी मा.वि.,सिर्कोट मा.वि. र  पिपलडाँडा मा.वि. ले प्रतियोगितामा कुनै पनि पदक जित्न सकेनन् ।

राष्ट्रपति रनिङ शिल्डमा विद्यालयहरूले प्राप्त गरेको पदक एवं अंक तालिका स्रोत: भीरकोट नगरपालिका

प्रतियोगितामा कबड्डी, भलिबल, छोटो तथा लामो दुरीको दौड, रिले दौड, हाइजम्प, लङ्गजम्प, ज्याभ्लिन थ्रो,  सटपुट  लगायतका खेलहरू समावेश गरिएको थियो।जनप्रतिनिधि र कर्मचारीहरूको समेत सक्रिय सहभागिता रहेको प्रतियोगिता सफल बनाउन   भीरकोटका सबै माध्यमिक विद्यालयहरूको सहभागिता रहेको  थियो।

१६ गते गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीले समुद्घाटन गरेको समारोहको समापन नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले गरेका थिए। पालिकाको आफ्नै खेलमैदानमा आयोजना गरिएको खेलकुद प्रतियोगिता गत वर्षहरूमा भन्दा व्यवस्थित र योजनाबद्ध रूपमा संचालन भएको थियो।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

भीरकोटमा र राष्ट्रिय स्तरमा सम्भावना भएका क्रीकेट, भलिबल र ब्याडमिन्टन खेल समावेश नगरिएको र  धुलोको कारण खेलमैदान स्वस्थकर नभएको भन्दै खेलप्रेमी, अभिभावक र विद्यार्थीहरूले गुनासो गरेका थिए। बालमैत्री स्थानीय शासन लागू भएको  नगरपालिका भएपनि उद्घाटन समारोहमा बालबालिकाको प्रतिभा प्रस्फुटनलाई महत्व नदिएको र समापन समारोह रातीको समयमा गरिएकाले पालिकामा बालमैत्री स्थानीय शासन प्रभावकारी रूपमा लागू नभएको प्रष्ट देखिन्थ्यो ।

नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले भीरकोट खेलमैदानलाई थप विस्तार र स्तरोन्नति गरि जिल्लाकै ठूलो र व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका छन्। जनगुनसा र कमीकमजोरीबाट सिक्दै आगामी  वर्षहरूमा रनिङ शिल्ड प्रतियोगिता र खेलमैदानलाई थप व्यवस्थित र बालमैत्री बनाइने खेल संयोजक एवं नगर प्रवक्ता दिपेन्द्र के.सी. ले बताएका छन्।