राजनीतिक स्थिरता र समृद्धिका लागि  ८४ मा बहुमत दिनुस् : अध्यक्ष  ओली

चैत २३, २०८०


२३ चैत्र २०८०, शुक्रबार

नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले देशमा राजनीतिक स्थिरता कायम गर्न र समृद्ध नेपाल, सुखी नेपालीको चाहना पूरा गर्न नेकपा एमाले सक्षम रहेको दाबी गरेका छन्। एमाले स्याङ्जाको ९ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले राजनीतिक स्थिरता र समृद्धिका लागि २०८४ को निर्वाचनमा नेकपा एमालेलाई स्पष्ट बहुमत दिन आग्रह गरेका छन्। विगतमा पार्टीको बहुमत नहुँदा गठबन्धन बनाउनु परेको र देशमा स्थिरता कायम हुन नसकेको बताउँदै उनले स्याङ्जाली जनतालाई आगामी चुनावमा  आफ्नो चेतना, विवेक राजनीतिक स्थिरता र समृद्धिका  लागि प्रयोग गर्न आग्रह गरेका छन्।

जिल्लाको सदरमुकाम स्थित स्याङ्जा बजारको सिटीहलमा ९ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष ओलीले सहमतिबाट नै नेतृत्व चयन गरेर पार्टी एकजुट बनाएर  अगाडि बढ्न निर्देशन दिएका थिए। उनले स्याङ्जा जिल्ला संघर्ष बोकेको, चेतना, राजनीति तथा हरेक क्षेत्रमा अगाडि रहेको बताउँदै अधिवेशनमा  गुटबन्दी गरेर पार्टीलाई कमजोर नबनाई सहमतिबाट नेतृत्वको टुंगो लगाएर संगठनलाई बलियो बनाउँदै अगाडि बढ्न निर्देशन दिएका थिए।

दुई दिनसम्म चल्ने अधिवेशनमा  ६०९ जना प्रतिनिधिहरु रहेको एमाले स्याङ्जाले जनाएको छ । अधिवेशनबाट अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ पदाधिकारी र १०० सदस्यसहित १०५ सदस्यीय जिल्ला कमिटी गठन हुनेछ । अधिवेशनबाट निर्वाचित उक्त कमिटीले ३ वर्ष पार्टी हाक्ने  छ ।