स्वस्थ्य जनशक्ति उत्पादन गर्न बालबालिकालाई स्वस्थ राख्नुपर्छ: अध्यक्ष सुवेदी

असार २३, २०७९


२३ असार २०७९, फेदीखोला

फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले स्वस्थ्य जनशक्ति उत्पादन गर्न बालबालिकालाई स्वस्थ राख्नुपर्ने बताउनुभएको छ। बालबालिकाको स्वास्थ्य-प्रती अभिभावकहरूलाई सचेत बनाउँदै उनीहरूको स्वास्थ्य अवस्थालाई सुदृढ बनाउन गाउँपालिकाले आयोजना गरेको स्वस्थ बालबालिका प्रतियोगितामा उहाँले सो कुरा बताउनुभएको हो गाउँपालिका अध्यक्ष सुवेदीले स्वास्थ्य क्षेत्रमा कायम हुने दरिलो सुचकले सुखी तथा समृद्ध जीवनयापन हासिल हुने बताउनुभयो। सानै उमेरदेखि बच्चालाई स्वस्थ बनाउन सके भविष्यमा स्वस्थ जनशक्ति उत्पादन हुने उहाँको भनाई थियो ।

जन्मदेखि २३ महिनासम्मका २६ जना बालबालिकाको सहभागिता रहेको प्रतियोगितामा ६ जना बालबालिकालाई पुरस्कृत  गरिएको थियो। बालबालिकालाई जन्मदेखि ११ महिनाको पहिलो समुह र १२ महिनादेखि २३ महिनासम्मको दोस्रो समुहमा विभाजन गरिएको थियो।

जसअर्न्तगत २१ जनाको सहभागिता रहेको वडा नं. १ मा पहिलो समुह अर्न्तगत ६ महिनाकि स्मीता बाँनिया प्रथम, ४ महिनाको कृजल पोख्रेल द्वितीय र ५ महिनाको पुजन वि.क. तृतीय भएका थिए ।



त्यसैगरि दोस्रो समुहमा २२ महिनाकी सुहाना सुनार प्रथम, १६ महिनाको एडिसन भाम दोस्रो र १८ महिनाको प्रयास पराजुली तेस्रो भएका थिए । त्यसैगरि २५ जनाको सहभागिता रहेको वडा नं. २ मा पहिलो समुहमा ११ महिनाकि एन्जी गुरूङ प्रथम, ७ महिनाको एन्जल जिसी दोस्रो र ७ महिनाको दर्शन कार्की तेस्रोमा भएका थिए भने दोस्रो समुहमा २२ महिनाको अरनिका अधिकारी प्रथम, २१ महिनाको परिष्कृत गौतम दोस्रो, २१ महिनाको मेलिष्मा गुरुङ तृतीय भएका थिए। वडा नं. ३ मा १३ जनाको सहभागिता रहेकोमा पहिलो समुह र दोस्रो समुहमा गरि ६ जनालाई पुरस्कृत गरिएको थियो । पहिलो समुहमा ४ महिनाको सृजन सुनाम प्रथम, ७ महिनाको प्रजन थापा द्वितीय र ८ महिनाकि अविष्का पौडेल तृतीय भएका छन् । दोस्रो समुहमा क्रमश १५ महिनाकि रिया अधिकारी, २१ महिनाको प्रिन्सा घर्ती र १३ महिनाको समर अधिकारी प्रथम, द्वितीय र तृतीय भएका थिए। वडा नं. ४ मा २१ जना बालबालिकाको सहभागिता रहेको थियो जसमा पहिलो समुह अर्न्तगत ८ महिनाको वृषन गुरुङ प्रथम, ५ महिनाको रोनित गुरूङ द्वितीय र १ महिनाकि दिविसा सुनार तृतीय भएका थिए। त्यसैगरि दोस्रो समुह अर्न्तगत २२ महिनाकि प्रियन्सी सुनार प्रथम, १९ महिनाकी पल्पसा सुनार द्वितीय र १५ महिनाको रोसन क्षेत्री तृतीय भएका थिए।

१७ जना बालबालिकाको सहभागिता रहेको वडा नं ५ मा पहिलो समूह अन्तर्गत १० महिनाको सक्षम लामिछाने प्रथम भएका छन् भने १० महिनाकै सक्षम क्षेत्री द्वितीय र ८ महिनाको सुगम गुरूङ तृतीय भए भने दोस्रो समुहमा २३ महिनाको रियन्स गुरूङ, १७ महिनाको दिव्या लामिछाने, १९ महिनाको दिप्सन सुनार क्रमश प्रथम, दोस्रो र तेस्रो भएका थिए। स्वस्थ बालबालिका छनोटका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले बनाएको १० वटा मापडण्ड अनुसार उनीहरूलाई छनोट गरिएको थियो।

बच्चाको आमाले कम्तीमा पनि प्रोटोकल अनुसार ४ पटक गर्भ जाँच गरेको हुनुपर्ने, संस्थागत सुत्केरी भएको हुनुपर्ने, व्यक्तिगत सरसफाई हुनुपर्ने, बच्चाले नियमित रूपमा प्रत्येक महिनामा नियमित रूपमा वृद्धि अनुमगन गरेको हुनुपर्ने, राष्ट्रिय खोपतालिका अनुसार खोप सेवा पाएको हुनुपर्ने, बच्चाले ६ महिनामा आमाको दुध मात्र खाएको हुनुपर्ने नियम मापदण्डमा समेटिएको थियो।

त्यसैगरि अन्य मापदण्डमा ६ महिना पुरा भएपछि आमाको दुधको साथ साथै थप खानाहरू खुवाएको हुनुपर्ने, आमालाई थप खानाको जानकारी भएको हुनुपर्ने, आमालाई सन्तुलित खानाबारे जानकारी भएको हुनुपर्ने, प्रोटोकल अनुसार प्रसुतीपछिको स्वास्थ्यचाँज गरेको हुनुपर्ने थियो।प्रतियोगितामा सबै वडाका दुबै समुहबाट ३० जना पुरस्कृत भएका थिए।