स्याङ्जामा प्रजिअ र मातहतका मुख्य कर्मचारीबिच कार्यसम्पादन सम्झौता

साउन १६, २०७९


स्मार्ट अखबार संवाददाता
१६ साउन २०७९



जिल्ला प्रशासन कार्यालय स्याङ्जामा प्रमुख जिल्ला अधिकारी र मातहतका मुख्य कर्मचारीबिच कार्यसम्पादन सम्झौता भएको छ। प्रमुख जिल्ला अधिकारी र सहायक सिडियो तथा अन्य कर्मचारीका बिचमा आर्थिक वर्ष २०७९/८० का लागि नयाँ कार्यसम्झौता भएको हो। गृह मन्त्रालयका गृह सचिव र स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलबिच यसअघि नै कार्य सम्पादन करार सम्झौता भएको थियो ।



यसै बमोजिम सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रजिअ पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीबिच कार्य सम्पादन करार सम्झौता भएको छ । यसका साथै प्रशासकीय अधिकृत भरतराज पाण्डे र श्री कृष्णप्रसाद पौडेलसमेतसँग पनि कार्यसम्पादन सम्झौता सम्पन्न भएको सूचना अधिकारी तथा सहायक प्रजिअ नमिता रेग्मीले बताउनुभएको छ ।

कार्यसम्पादन सम्झौतामा नयाँ आर्थिक वर्षमा गर्ने योजना र कामहरु र त्यही अनुसारको अङ्क र मूल्याङ्कन प्रणाली हुने भएकाले यसले सेवालाई प्रभावकारी बनाउने र सुशासन कायम गराउन सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

त्यस्तै सम्झौताले कर्मचारीहरुका बिचमा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना भई सेवा थप जनमैत्री र उत्तरदायी बन्ने सहायक प्रजिअ नमिता रेग्मीले बताउनुभयो ।