स्याङ्जाकै ठुलो अक्सिजन प्लान्ट सञ्चालनमा

माघ १८, २०७८


 



१८ माघ, युवराज पौडेल



स्याङ्जा जिल्ला अस्पतालमा प्रयोग बिना डम्पिङ भैरहको नयाँ अक्सिजन प्लान्टलाई आजबाट सञ्चालनमा ल्याइएको छ ।  प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले आज सो अक्सिजन प्लान्टको स्विच अन गरेर उद्घाटन गर्नुभएको छ ।

उक्त कार्यक्रममा प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेत, जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रमेशप्रसाद आचार्य, स्वास्थ्य कार्यालय स्याङ्जाकी प्रमुख बसुन्धरा शर्मा, अस्पतालका निर्वतमान अध्यक्ष लोकराज शर्मा, रेडक्रस स्याङ्जाका अध्यक्ष दिनेश अर्याल लगायतको उपस्थिति थियो ।

जिल्ला अस्पताल स्याङ्जामा आज अक्सिजन प्लान्टको प्रारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो, ‘स्याङ्जा जिल्ला अस्पतालमा यति ठुलो क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा आउँदा मलाई गर्व लागेको छ । अब स्याङ्जा जिल्लाभर अक्सिजनको अभाव हुँदैन । यसमा विद्युत प्राधिकरणको सकारात्मक सहयोग महत्वपूर्ण छ ।’ उहाँले सबैको सहयोगले यसमा सफलता मिलेको बताउनुभयो ।

उक्त अक्सिजन प्लान्ट १ करोड ३६ लाखमा गत असार १५ मा सम्झौता भएको थियो । कोभिड सङ्क्रमणका कारण अक्सिजन प्लान्टको खाँचो महसुस भइरहेका बेलामा गत वर्ष नै सो अक्सिजन प्लान्ट ल्याइएको भए पनि विद्युत क्षमता अपुग भएकाले सञ्चालनमा आउन सकेको थिएन । १५ एमपीक्यु क्षमताको अक्सिजन प्लान्टका लागि ५० केबी विद्युत क्षमता आवश्यक पर्ने तर सो क्षमता साविक १०० केबी क्षमताको प्रसारण लाइनले नभ्याउने भएपछि अक्सिजन प्लान्ट सञ्चालनमा समस्या भएको थियो । यसका लागि १०० केबी विद्युत क्षमता बढाउनुपर्ने कारण प्लान्ट ल्याएर पनि सञ्चालनमा थिएन ।

यसै सन्दर्भमा प्रमुख जिल्ला अधिकारी पौडेलले यसका बारेमा सूचना पाएलगत्तै यस कार्यका लागि विशेष चासो देखाउनुभएको थियो । प्रजिअ पौडेलले जिल्ला अस्पतालमा आइसकेको अक्सिजन प्लान्टलाई विद्युतको क्षमता अभावका कारण थन्क्याएर बस्नुपर्ने स्थितिको अन्त्य गर्नका लागि विद्युत प्राधिकरणका निर्देशक र नेपाल विद्युत प्राधिकरण स्याङ्जा प्रमुख लगायत अन्य सरोकारवालाहरुसँग छलफल र समन्वय गर्नुभएको थियो। प्रजिअको निर्देशन र अनुरोधपछि विद्युत प्राधिकरण प्रमुख प्रताप बरालले छोटो प्रक्रियाबाट १०० केबी विद्युत क्षमता अभिवृद्धि गर्ने कुरामा तत्परता देखाउनुभएको थियो ।

१५ एनएमक्युब क्षमताको सो अक्सिजन प्लान्ट जिल्लामै सबैभन्दा ठुलो अक्सिजन प्लान्ट हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश प्रसाद आचार्यले भन्नुभयो, ‘यसले एक घण्टामा १५ हजार लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्छ । यसले १५०० लिटर प्रतिघण्टा अक्सिजन सेन्ट्रल सप्लाइमा पठाउन सक्छ । ८ एनएमक्युब अथवा ८००० लिटर प्रतिघण्टा अक्सिजन भर्न सक्छ ।’  सामान्यतः एउटा सिलिन्डरमा ६४०० लिटर अक्सिजन आपूर्ति हुन्छ । यसले अन्यत्र खपत गरेर पनि २४ घण्टामा ३२ वटासम्म सिलिन्डर प्रतिदिन भर्न सक्छ । यसले सबै गरेर दैनिक ७५ प्लस माइनस सिलिन्डर प्रतिदिन भर्न सक्ने क्षमता राख्ने डाक्टर आचार्यले बताउनुभयो ।

यो अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले स्याङ्जा जिल्लाभरको अक्सिजनको माग सहजै आपूर्ति हुने जिल्ला अस्पताल स्याङ्जाका अध्यक्ष इन्द्रबहादुर गोदारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो ठुलो उपलब्धि हो । यसको निरन्तरता आवश्यक छ । अब अक्सिजन नपाएर बिरामीको ज्याने अवस्थाको अन्त्य भएको छ ।’