स्याङ्जामा फल्यो १ अरब १० करोडको सुन्तला

मङि्सर २७, २०८०


नारायणप्रसाद कोइराला 

२७ मङ्सिर २०८०, बुधबार

सुन्तलाको राजधानी स्याङ्जामा यो वर्ष १९ हजार ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ l प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजनाले गरेको बाली   उत्पादकत्व निर्धारण तथा सुन्तला  बाली कटानी सर्वेक्षणबाट सो नतिजा प्राप्त भएको कार्यालय प्रमुख माधव लम्सालले  बताए l उनका अनुसार यस वर्ष  प्रति हेक्टर उत्पादन १४.४६ मेट्रिक टन रहेको छ l

किसानले बगैंचामा प्राप्त गर्ने औसत मूल्य प्रति केजी ५५ देखि ६० रुपैयाँको दरले हिसाब गर्दा यो वर्ष स्याङ्जामा करिब  १ अर्ब १० करोड बराबरको सुन्तला उत्पादन  भएको सुन्तला सुपरजोन परियोजना  कार्यालय प्रमुख लम्सालले बताए l गत वर्ष  वर्ष २२ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो l  आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ३८ करोडको सुन्तला उत्पादन भएकोमा यो वर्ष सुन्तलाको एक वर्ष बाक्लो र अर्को वर्ष पातलो फल्ने प्रवृत्ती, मौसमी प्रतिकुलता, कमजोर बगैंचा व्यवस्थापन लगायतका कारणले सुन्तला उत्पादनमा कमि आएको लम्सालले जानकारी दिए l स्याङ्जाको सुन्तला रसिलो र स्वादिलो हुने हुँदा पोखरा,बुटवल लगायतका ठाउँमा माग उच्च रहेको कृषक तथा व्यापारीहरूको अनुभव छ ।

लम्सालले उत्पादनमा कमी आएको भएपनि सुन्तलाको गुणस्तर राम्रो रहेको बताए l  लम्सालका अनुसार  १ हजार ३ सय २० हेक्टर क्षेत्रफलमा उत्पादनशील सुन्तला बगैंचा रहेको छ भने २ हजार २ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती भैरहेको छ l स्याङ्जा देशमै सबैभन्दा मिठो र बढी सुन्तला उत्पादन हुने जिल्ला  हो l सुन्तलाको क्षेत्र विस्तार भैरहेको यो जिल्ला सुन्तलाका विरूवामा समेत आत्मनिर्भर छ l

स्याङ्जाको पुतलीबजार नगरपालिकामा सबैभन्दा बढी ८५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ भने सबैभन्दा कम फेदिखोलामा ३५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ l यसैगरी भीरकोटमा ३५० हेक्टर , अर्जुनचौपारीमा २७० हेक्टर, वालिङमा २४० हेक्टर, आँधिखोलामा १२५ हेक्टर, गल्याङमा १३० हेक्टर, विरुवामा १५५ हेक्टर र हरिनासमा ४५ हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यवसायिक खेती गरिएको छ l जिल्लामा उत्पादित सुन्तला मध्ये १० प्रतिशत मात्रै जिल्लामा खपत हुने गरेको छ भने ९० प्रतिशत सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ l