भीरकोट नगर प्रमुखलाई खुला पत्र

फागुन ०८, २०७९


रवि थापा
२०७९ फागुन

आदरणीय नगरप्रमुख गोविन्द कर्मचार्यज्यू नमस्कार । आरामै हुनुहुन्छ होला । तपाईले भीरकोट नगरपालिकाको नगरप्रमुखको जिम्मेवार सम्हालेको पनि आज दश महिना पुगेछ । दश महिनासम्म त परिवर्तनको ओहिरो आउनुपर्ने हो तर बिडम्बना नगरबासीले त्यसको महसुस आजको दिनसम्म गर्न पाएनन् । यो भनिरहँदा मैले तपाईँलाई भारतीय ‘नायक’ फिल्मको शौलिमा विकास गर्नु भएन भनेको पनि होइन तर विकासको लागि थोरै भएपनि फड्को मार्न सकेको जस्तो महसुस गर्न म लगायत कुनैपनि नगरिकले पाएका छैनन् ।

नगरप्रमुख कर्मचार्यज्यू, आजभन्दा ठिक दश महिना अघि तपाईँको प्रतिस्पर्धीको रुपमा भीरकोट नगरपालिकाका ३० वर्षीय नेकपा एमालेका पार्टी अध्यक्ष विश्वनाथ अर्यालले तपाईँसँग कडा प्रतिस्पर्धा गर्ने भनेर मैदानमा उर्लिएका थिए । ठिक त्यहि बेला काठमाडौँ महानगरपालिकामा समेत त्यस्तै ३० वर्षकै युवा बालेन्द्र शाह (बालेन) पनि चुनावको लागि मैदानमा उत्रीय  अनि चुनाव पनि जिते। किनभने त्यो बेला महोल युवालाई जिताउनुपर्छ भनेर सबै नेपाली जनताहरु लागिपरेका थिए तर त्यस्तो बेलामा तिनै भीरकोट नगरपालिकामा उठेका जुझारु युवा विश्वनाथ अर्याललाई जनताले पत्याएनन्। अनि तपाईलाई अधिक मत दिएर भीरकोटका जनताले जिताए । त्यसको लागि तपाईँलाई शुभकामना छ। बधाई तपाईको पाँच वर्ष कार्यकाल सकिएपछि नै दिनेछु । कर्माचार्यज्यू, अब तपाईको दश महिनाको कामको यसो चर्चा गरौँ । चर्चा गरिरहँदा तपाईँलाई लाग्ला लेख्न जस्तो सजिलो काम गर्न हुदैँन भनेर। तर काम गर्न भनेर गएको मान्छेले गाली र ताली दुबै सहन सक्ने क्षमता राख्नुपर्दछ । पहिला त तपाईँको चुनावी घोषणपत्र वा वाचापत्रमा केन्द्रित रहेर केही चर्चा गरौं ।

विज्ञापन

सर्वप्रथम पूर्वाधार विकासमा तपाईँको घोषणापत्रमा सडक, स्तरिकरण गर्ने (संघ, सरकार र प्रदेश सरकार) सँग समन्वय गर्ने भनेर उल्लेख छ तर विडम्बना ग्रामीण क्षेत्रको सडकको अवस्था त नाजुक छदैँ छ तर देशकै मुख्य राजमार्ग सिद्धार्थ राजर्मागमा नै सडक स्तरिकरण गर्ने नाममा माटो हालेर सडक मर्मत गर्नु लाजमर्दो विषय होइन र ? नगर प्रमुखज्यू सडक जस्तो संवेदनशील स्थानमा पनि लापरबाही गर्दा भोलि दुर्घटना हुँदैन भनेर ठोकुवा गर्न सक्ने अवस्था छैन । सडक मर्मत गर्ने नै हो भने त नगरपालिकामा बालुवा प्रशोधन गर्ने भनेर प्लान्ट पनि त स्थापना गरिएको छ त्यसको प्रयोग गर्नको लागि तपाईँलाई कसले छेक्यो ? कि हामी जस्ता आमनागरिकले देखावटी विकास गर्दै छन् नगरप्रमुख भनेर बुझौँ । यसको पनि हामीलाई उत्तर दिनुहोला । यसलाई अझै तल विस्तृत रुपमा प्रष्ट पार्ने कोशिस गर्नेछु ।

नगरपालिकाले आफ्नै लगानीमा प्रशोधन केन्द्र खोल्यो त्यसबाट नगरपालिकालाई राम्रै आम्दानी पनि भएको छ भने रोजगारीको पनि ढोका खोलिएको छ । त्यो कार्यलाई अघि सार्ने भीरकोट नगरपालिकाका निवर्तमान नगरप्रमुख छायाराम खनाललाई मुरीमुरी धन्यवाद छ तर स्थानीय सरकारले नेपाल सरकारको मापदण्डलाई नै लत्यायर उक्त प्रशोधन केन्द्र संचालन गर्दा केही महिना अघि गृह मन्त्रालयले निकालेको निर्देशनले पालिकाले नै संचालन गरेको केन्द्र दर्ताविना नै संचालन गर्नाले बन्द हुन पुग्यो । त्यो भन्दा हास्यपद विषय कहाँ होला नगरप्रमुखज्यू ? ठिक छ त्यो अब कानुनी प्रक्रियाहरु पूरा गरेर फेरि संचालनमा ल्याउनुहोला वा आउला ? तर त्यै प्रशोधन केन्द्रको गिट्टी, बालुवा लगेर सडक मर्मत गरेको भए तपाईको आलोचना हुने थिएन होला नि बरु उल्टो कहाँबाट माटो ल्याएर माटोले मर्मत गरेर देश घुम्न आएका केही पर्यटकहरुलाई आफ्नो छवि प्रष्ट देखाउनु भयो ।

अर्को विषय किसानको आलुको क्षतिपूर्ति २०७८ साल वैशाख महिनामा नगरपालिकाले ढुङ्गाना कृषि फर्मद्वारा सञ्चालित श्याम ढुङ्गनाको शीत भण्डारमा नगरपालिकाको अनुरोधमा प्रति घर २५ देखि ३० किलोसम्म आलु राखे आलु लगाउने समयमा किसानहरु आफूले राखेका आलु लिन जाँदा तापक्रमदेखि अन्य कारणले स्टोरमा राखेका सबै आलुहरु कुहिएर नष्ट भएका थिए । त्यो बेला तत्कालका लागि किसानलाई भुलाउन नगरपालिकाले अनुदानमा प्रतिकिलो ३० रुपैँयामा आलुको बिउ दियो तर आजको दिनसम्म पनि किसानलाई रनभुलमा नै पारेको छ । यता कोल्ड स्टोरका संचालक श्याम ढुङ्गानाले २०७९ बैशाख ३० गतेसम्म सम्पूर्ण किसानलाई आलुको क्षतिपूर्ति दिने भनेपनि आजको दिनसम्म उनले पनि केही वास्ता गरेका छैनन् ।



पटकपटक किसानहरुले क्षतिपूर्ति दिलाउन नगरपालिकालाई दबाब दिन थालेपछि पालिकाले जिल्ला प्रशासन कार्यालय स्याङ्जामा किसानलाई क्षतिपूर्ति दिलाउन पर्यो भनेर निवेदन दियो तर बिडम्बना प्रशासन कार्यालयले उक्त पत्र नै हराइ दियो भनेर तपाईँले संचारकर्मीलाई बताउनुभयो । नगरप्रमुखज्यू, तपाईभन्दा पनि ठूलो र तपाईको कुरा नमान्ने मान्छे भीरकोटमा रहेछन् त तपाईलाई कसरी नगरप्रमुख भनेर सम्बोधन गरौं । जनताले त्यत्रो मत दिएर जिताएको मान्छेले जाबो एउटा कोल्ड स्टोरको संचालकलाई पालिकामा ल्याएर वार्ता गरेर क्षतिपूर्ति दिलाउन सक्नुहुन्न ? हामीले यो बुझ्न पर्यो, कोल्ड स्टोर संचालकले नगरपालिकालाई टेरेन अनि पालिका, जिल्ला प्रशासनमा गएर कारबाही गरिदिनु भनेर हात फिजाउन पर्यो है ? क्या लाजमर्दो कुरा ? यो सँगै भीरकोटका जनताले आलुको क्षतिपूर्ति पाउँदैनन् भनेर घोषणा गर्नुहोस् सूचना पुर्याउने जिम्मा हामीलाई छोड्नुहोस् ।

विज्ञापन

त्यस्तै नगरपालिकाको केन्द्र बयरघारी बजारमा सवारी पार्किङलाई व्यवस्थित गर्ने उद्देश्यले ४ वर्षअघि निर्माण गरिएको बसपार्कलाई महालेखाको प्रतिवेदनले उक्त स्थानमा बसपार्क संचालन नगरौं है भन्दा पनि सरकारी निकायभन्दा पनि ठुलो मान्छे भएर त्यसलाई कुल्चिएर बसपार्क संचालन गर्नुभयो। भीरकोट बसपार्कको विषयमा आर्थिक वर्ष २०७८/७९ को महालेखापरीक्षकको प्रतिवेदनले उक्त स्थानमा बसपार्क संचालन गर्दा बढी खर्चिलो भएको औँल्याएको थियो ।

बिज्ञापन
स्मार्ट अखबारद्वारा जनहितमा जारी सन्देश

महालेखाको प्रतिवेदनमा सार्वजनिक निकायले सार्वजनिक श्रोतको उपयोग गर्दा मितव्ययी र अधिकतम प्रतिफल सुनिश्चित हुनेगरी खर्च गर्नुपर्नेमा नगरपालिकाले बसपार्क संचालनमा गर्ने प्रयोजनको लागि विभिन्र १२ जना व्यक्तिको जग्गा प्रतिरोपनी मासिक १७ हजार ४५ रुपैयाँका दरले वार्षिक २ लाख ६२ हजार ९२८ खर्च हुने जनाएको छ ।

निर्माणपछि अलपत्र रूपमा रहेको बसपार्क २०७९ असोज १५ गतेदेखि अनिवार्य रूपमा पुन संचालनमा ल्याउने भनेर नगरपालिकाले सूचना निकालेपनि ट्राफिक प्रहरीले सहयोग नगर्दा उक्त स्थान बसपार्कको रूपमा संचालनमा आउन नसकेको तपाईँले केही समय अघि बताउनु भएको थियो । करिब १० लाख खर्चेर निर्माण गरेको बसपार्क नियामक निकाय नगरपालिकाको वेवास्ता र व्यवसायीहरूको लापरबाहीका कारण अलपत्र अवस्थामा रहेको उक्त जग्गाको कुनै उपयोग भएको छैन भने उल्टो पालिकाबाट वार्षिक लाखौँ रकम खर्च भएको छ । नगरपालिकाले ४ वर्षको अवधिमा बसपार्क निर्माण र जग्गा भाडा बापत २० लाखभन्दा बढी रकम खर्च गरिसकेको छ तर अहिले भने उक्त जग्गामा ब्याडमिन्टन खेलका लागि प्रयोगमा ल्याइएको छ । प्रशासकीय अधिकृत रामप्रसादले पौडेलले भने पालिकाले थोरै मात्र जग्गा ब्याडमिन्टन खेल्नको लागि प्रयोग गरेको बताउनु भएको थियो ।

नगरप्रमुखज्यू यसलाई नै भन्छ गाउँगाउँमा सिहंदरबार ! तपाईँ त राजा जस्तो तरिकाले आफ्नो मनोमानीमा नगरपालिका चलाउदैँ आउनु भएको रहेछ त। एउटा भनाइ छ नि ‘बिरालोलाई दुध कुर्न लगाउनु’ जस्तै भएको छ । तपाई त्यो बिरालोको रुपमा नगरपालिकामा बस्नुभएको त छैन नि ? यदि होइन भने नेपाल सरकारको निकायले पटकपटक प्रतिवेदनमा यो नगर्नु भनेर भनिरहँदा किन तपाईँले टेर्नु भएन् । यसको उत्तर भीरकोटका नागरिकलाई दिनुपर्छ ।

अस्पतालको विषय त झनै बिजोग । प्रमुखज्यू तपार्ईको घोषणा पत्रमा दाँजेर कुरा गरौँ नगर अस्पताललाई उपकरण प्रविधि सहित ५० शैया संचालन गर्ने, प्रदेशको सहकार्यमा ट्रमा सेन्टर स्थापना गर्ने, डायलाइसिस सेवा संचालन गर्ने, सुत्केरी सेवा संचालन गर्ने, स्वास्थ्य संस्थामा आवश्यक उपकरणसहित ल्याव स्थापना गर्ने, जेष्ठ नागरिक, विपन्न नागरिक र विद्यार्थीहरुको घर र विद्यालयमा आवधिक स्वास्थ्य जाँच गराउने। सायद यस्तै छन् तपाईँकोे घोषणा पत्रमा उल्लेखित रहेको स्वस्थ्य क्षेत्रमा गरिने काम। अब यसलाई दाजेर कुरा गर्नपनि लाजमर्दो नै छ । नगर प्रमुखज्यू नगरपालिकाको वडा नम्बर–६ एकुवारमा ‘एक स्थानीय तह एक अस्पताल’को अवधारणा अनुरुप वि.सं. २०७७ साल मंसिर १५ गते १५ शैयाको अस्पतालको शिलान्यास भयो । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रहेकी पद्मा अर्यालले तामझामका साथ शिलन्यास गरिन् । तर, शिलान्यास भएको दुई वर्ष पुगिसक्दा पनि अस्पतालमा एउटा पिल्लर समेत उठ्न सकेको छैन । १५ शैयाको नगर अस्पताल निर्माण गर्नको लागि ९ रोपनी जग्गा ३६ लाखमा खरिद गरियो । कुल रू. १८ करोड बजेटमा अस्पताल निर्माण गर्ने निर्णय भएपनि अहिलेसम्म अस्पतालको डीपीआर बनाउने बाहेक अन्य कुनै काम भएको छैन। तर कारण भने जग्गाको अवस्था मिलेन, लागत बढी आउने जस्ता करण देखाएर राजनितिक दाउपेचमा उक्त अस्पतालको जग्गा हरियो झार पलाउने स्थिति बनाइयो । अनि रह्यो भीरकोट नगरपालिका वडा नम्बर १ मा रहेको नगरअस्पतालको अवस्थाको पनि के कुरा गर्ने कन्तविजोग नै छ । तपाईँ नगरप्रमुख भैसकेपछि कति पटक त्यो अस्पतालमा प्रवेश गर्नुभयो र त्यसको स्तररोन्नति गर्नको लागि के कस्ता निर्णय गर्नुभयो ? त्यसको पनि हामीलाई जवाफ चाहिन्छ। अस्पतालको सेवा प्रवाहको अवस्था नाजुक छ। बयरघारीको फार्मेसीमा उपलब्ध हुने सेवालाई नागरिकले विश्वास गर्छ्न तर नगर अस्पताल नाम मात्रैको छ। न डाक्टर र स्वास्थ्यकर्मीले समयको पालना गरेर अस्पतालमा हाजिर हुन्छन् नत त्यहाँ कार्यरत डाक्टर र स्वास्थ्यकर्मीको पहिरन, बोली, वचन र व्यवहार विरामीलाई निको पार्ने खालको छ। हो थाहा छ नगरप्रमुखको कुर्ची समालेको धेरै भएको छैन तर स्वस्थ्य जस्तो संवेदनशील क्षेत्रको अवस्था त एक महिनामा सुधार गर्न पर्ने होइन र ? स्वास्थ्यको लागि चाहिने आधारभूत सामाग्री छैन, संवेदनशील बिरामी अस्पतालमा आयो भने पोखरा रिफर गर्ने बाहेक अन्य विकल्प के छ ? अझै भएन भनेर व्यवस्थित अस्पताल निर्माणको लागि आएको बजेटलाई पनि राजनिति अंहकार देखाएर अलपत्र पार्नुभयो ।

शिक्षा क्षेत्रको पनि अवस्था त ध्वस्त नै छ नगरप्रमुखज्यू, घोषणपत्रमा भनिएको रहेछ, गुणस्तरीय, व्यवसायीक, निशुल्क र पढ्दै कमाउदै कार्यक्रम सुचारु गर्ने, ईलाईब्रेरी स्थापना गरि स्तरीय शिक्षाको अवसर प्रदान गर्ने, प्रविधि शिक्षाको विस्तार गर्ने, आवश्यकताका आधारमा सहलगानीमा शिक्षकलाई ल्यापटप उपलब्ध गराउने, विद्यालयको भौतिक अवस्था स्तरीय बनाउने सरसफाईमा विशेष ध्यान दिने लगायत अन्य ।  नगर प्रमुखज्यू नगरप्रमुखको कुर्सीमा बसेपछि वार्षिकोत्सवमा बाहेक नगरपालिकाका कतिवटा सरकारी विद्यालयको भ्रमण गर्नुभयो ? के रहेछ त्यहाँको अवस्था ? कि तपाईलाई यसको लागि तपाईको शिक्षा शाखाले सहयोग गरेन ? तपाईँलाई अवगत छ कि छैन ? म ठोकुवाका साथ भन्छु सरकारी विद्यालयमा खुलेआम राजनिति हिजोपनि चलेको थियो र आज पनि चलेको छ । तपाई सरल तरिकाले बुझाउनको लागि ‘छक्का पन्जा ३’ हेर्न आह्वान् गर्छु। कसरी सरकारी विद्यालयमा राजनिति चलेको छ भन्ने कुरा बुझ्न सरल हुन्छ ।
बरु तपाईँलाई बुझाउनको लागि भीरकोटका विद्यालय पनि देखाउन सक्छु । केही समय अघिको घटना विद्यालयको नाम त चिनाउन चहिन तर उक्त विद्यालयका प्रधानध्यापक नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा आउने बेला विद्यालयमा आफ्नो काम छाडेर पार्टीको कार्यक्रममा कालो कोट लगाएर नेता बोलेको कुरामा ताली बजाउन गएका थिए । अर्को कुरा विद्यालयको अध्यक्षमा बाह्र वर्षसम्म एउटै अनुहार छन् । अनि कसरी राम्रो हुन्छ विद्यालयको शिक्षाको अवस्था ? यो त केवल उदाहरण मात्र हो । बाँकी धेरै छन् । यसको निगरानी कसले गर्ने ? विद्यार्थीहरुलाई छाडा चौपाया जसरी छाडिन्छ, विद्यार्थीसँग शिक्षकहरु डराउँछन् यसको निगारानी कसले गर्ने ? शिक्षाको स्तर यति ध्वस्त छ कि जुन कल्पना पनि गर्न सकिने अवस्थामा छैन । सरकारी विद्यालयहरु बन्द हुने अवस्थामा छन् । बन्द भएका सरकारी विद्यालयको सरकारी जग्गा जमिन, फर्निचर र भवन वेवारिसे छ्न्। बालमैत्री नगरपालिकाको बालविकास केन्द्रमा शौचालय छैन भन्ने कुराको कल्पना समेत छैन होला हजुरलाई। कारण शिक्षाको अवस्था नै ध्वस्त छ अनि कसरी मिल्यो त तपाईको घोषणापत्र अनुसारको विकास प्रक्रिया ?

बालमैत्री नगरपालिका, गण्डकी प्रदेशकै दोस्रो बालमैत्री नगरपालिकाको अवस्था कस्तो छ नगरप्रमुख ज्यु? सायद भीरकोटका अघिल्ला नगरप्रमुखलाई पनि थाहा थिएन होला बालमैत्री नगरपालिका घोषित हुनको लागि कस्ता कस्ता पूर्वाधार चाहिन्छ भनेर, के भएर बालमैत्री नगरपालिका घोषणा गरियो ? कि बाल बिवाहको अन्त्य भयो भनेर बालमैत्री नगरपालिकामा घोषणा गरियो ? बालबालिकालाई खेल्नको लागि मैदान छैन ? पढ्नको लागि पुस्तकालय छैन, शान्त वातवरणमा पढ्ने स्थिति छैन, विद्यालयमा शिक्षकको राजनिति, घरमा काम अनि कसरी भयो बालमैत्री नगरपालिका ? पसलेहरुले खुलेआम बालबालिकालाई रक्सी, चुरोट बेच्छन उनीहरु त्यसको लतमा पसिसकेका छन् खोइ त्यस्ता पसलेलाई कारबाहीको दायरामा ल्याएको ? बालमैत्री पार्कहरू अलपत्र र वेवारिसे छ्न। नगरपालिकाको सडकहरूको अवस्था हेर्दा बालमैत्री भन्दा पनि धूलोमैत्री घोषणा गरेको भए गज्जब हुन्थ्यो जस्तो छ। अनि तपाईंका पार्टीका कार्यकर्ताले चुनावको मुखमा गरेको वालुवाको अवैध उत्खननको छानबिन गर्न तपाईंले गठन गरेको छानबिन समितिको प्रतिवेदन कहाँ लुक्यो? सहीलाई सहि र गलतलाई गलत भन्ने हिम्मत नभएको तपाईंले नगरमा विधिको शासन र सुशासन कायम गर्नुहोला भन्ने कुरामा कसरी विश्वास गर्ने? वर्षको एकपटक पनि सार्वजनिक सुनुवाइ नगरी पालिका कसरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन उत्कृष्ट पालिका (स्याङ्गजा जिल्लाको नगरपालिकाहरु मध्ये) भयो? गिटी बालुवाको अवैध उत्खनन र बिक्रिवितरण त हजुरको घोषणापत्रमा त छैन। आदरणीय नगरप्रमुखज्यू , समस्या धेरै छन् तर अहिलेलाई यति समस्या देखाएर बिट मार्न चाहान्छु । लामो लेख्यो भनेर तपाईँले नपढ्नसक्नु होला तर तपाईले यी सबै कुराको उत्तर एकएक गरेर दिनुपर्छ । म तपाईँलाई सिकाउन सक्ने हैसियतको मान्छे त पक्कै होइन तर एउटा जिम्मेवार पदभार सम्हालेको मान्छे शान्त भएर बसेको कति पनि शोभा दिदैँन ।