स्याङ्जा अस्पतालमा ओपिडी सेवा विस्तार : दैनिक १२ घण्टा सेवा

बैशाख ११, २०८१


युवराज पौडेल
१० बैशाख २०८१, सोमबार

स्याङ्जा । स्याङ्जाको अस्पतालमा ओपिडी सेवा विस्तार भएको छ । वैशाख ११ गतेदेखि बिहान ७ बजेबाट साँझ ७ बजेसम्म लागु हुने गरी सेवा विस्तार गरिएको अस्पतालले जनाएको छ ।

कर्मचारी, शिक्षक, विद्यार्थी, ज्यामी मजदुर, व्यवसायी लगायतका वर्गलाई लक्षित गरेर अस्पतालले शनिबार र सार्वजनिक बिदाका दिनमा बाहेक अन्य दिन बिहान ७ बजेबाट साँझ ७ बजेसम्म ओपिडी सेवा दिने भएको छ ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारी बनेपछि ११ ओटै जिल्लामा बिहान ७ बजेबाट बेलुकी ७ बजेसम्म सेवा विस्तार गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको थियो ।

गण्डकी प्रदेशको उक्त निर्णयलाई कार्यान्वयन गर्ने सन्दर्भमा स्याङ्जा जिल्ला अस्पतालले आवश्यक तयारी गरी वैशाख ११ गतेबाट सेवा विस्तार गर्ने भएको हो ।

muktinath krishi

ओपिडी सेवा विस्तार हुँदा यसबाट बिहानै खाली पेटमा रगत दिनुपर्ने बिरामीलाई राहत हुने तथा हाल भइरहेको भिडभाड पनि कम भई सेवा प्रभावकारी हुने अस्पताल स्रोतको दाबी रहेको छ ।

यसबाट रिफर भई अन्य अस्पतालमा जानुपर्ने बिरामीहरुलाई पनि समयमै अर्को अस्पताल जान पाउने अवस्था सिर्जना भएको अस्पतालका जनस्वास्थ्य निरीक्षक चिरञ्जीवी खनालले बताउनुभयो । हाल जिल्ला अस्पतालमा दैनिक सरदर २०० देखि २५० सम्म ओपिडिमा सेवा लिन बिरामीहरु आउने गरेका छन् ।

थपिएको समयमा सेवा लिन आउँदा थप शुल्क नलाग्ने र वीमितहरुलाई स्वास्थ्य बीमामार्फत् नै सेवा उपलब्ध हुने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रुक्मिना अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो’ ‘हाल सञ्चालन गरेको ओपिडी समय कतिपयका लागि अनुकूल नभएकाले अस्पतालको सुविधाबाट उहाँहरु वञ्चित हुने अवस्था थियो भने थोरै समयमा ओपिडीका बिरामीको चाप धान्न नसकेको अवस्था पनि थियो । सेवा विस्तार भएपछि यी समस्याको समाधान हुनेछ ।’

जिल्ला अस्पताल स्याङ्जाले यसअघि विभिन्न सेवाहरु थप गरेको छ । केही महिना अगाडिमात्र अस्पतालमा फिजियोथेरापी सेवा सुरु गरिएको छ ।