कृषकलाई व्यवसायिक बनाउँदै नवप्रवर्तन कार्यक्रम

नारायणप्रसाद कोइराला, स्याङ्जा
४ साउन २०८०, बिहिवार
गण्डकी प्रदेश र भीरकोट नगरपालिकाको साझेदारीमा संचालित नवप्रर्वतन साझेदारी कोष कार्यक्रमले किसानहरूलाई व्यवसायिक बनाउँदै लगेको छ। प्रदेश र पालिकाको २ करोड २ लाख रूपैयाँमा संचालित योजनाबाट १ सय ७५ जना किसानहरू प्रत्यक्ष लाभान्वित बनेका छ्न्। उनीहरूले व्यवसायिक रूपले बाख्रा, बंगुर पालन र सुन्तला खेती गरेका छ्न्। साझेदारी कार्यक्रममा प्रदेशको १ करोड ८ लाख ३१ हजार ३ सय ४६ रूपैयाँ लगानी गरेको छ भने नगरले ४३ लाख २५ हजार ४ सय २८ लगानी गरेको छ।

२५ जनाको समूह ७ वटा समूह बनाएर कृषकहरू तालिम र प्रविधी हस्तान्तरण गरिएको छ। ७५ जना किसानहरूले बाख्रापालन गरेका छ्न् भने ५० जना कृषकहरूले बंगुरपालन गरेका छ्न्। ५० जना किसानहरूले व्यवसायिक सुन्तला खेती गरेका छ्न्।

कार्यक्रम अन्तर्गत ७१ वटा बाख्राका र ३० वटा बंगुरका आधुनिक खोर निर्माण गरिएको पालिकाका कृषि शाखा प्रमुख किसन अर्यालले बताए। कृषि शाखा प्रमुख अर्यालका अनुसार लाभग्राही किसानहरूलाई ११ हजार सुन्तलाका बिरुवा वितरण गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगाना कृषि र पशुपालनमा आत्मनिर्भर बनाउन नवप्रर्वतन कार्यक्रम कार्यान्वयन गरिएको बताए। कृषकलाई व्यवसायिक बनाउन लागत साझेदारी गरिएको र प्रविधी र निर्माणमा ५० प्रतिशत अनुदान प्रदान गरिएको प्रशासकीय अधिकृत ढुङ्गानाले बताए।

पालिकाभित्र बाख्रापालन, बंगुरपालन र सुन्तला खेतीको सम्भावना रहेकाले गण्डकी प्रदेश र भीरकोट नगरपालिकाको साझेदारीमा कृषि र पशुपालनलाई प्राथमिकता दिएर नवप्रवर्तन कार्यक्रम संचालन गरिएको बताए। जनसहभागिता भयो भने लगानीको माया ममता हुन्छ, कृषि व्यवसायिक र दिगो हुन्छ भनेरनै किसानहरूलाई प्रदान गरिएको सबै सेवा सुविधामा ५० प्रतिशत अनुदान दिइएको बताए। तालिममा सिकेका कुराहरू व्यवहारमा उतारेर पशुहरूको राम्रो हेरचाह गर्न सके किसानहरूलाई सफल हुन पालिकाले थप सहयोग गर्ने कर्माचार्यले बताए।
