भीरकोट नगरपालिकाको निति तथा कार्यक्रममा आँधीखोला किनारमा हरित सडक निर्माणलाई प्राथामिकता ।

असार ०९, २०७८


भीरकोट खबर डेक्स
असार ०९
भीरकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागी निति तथा कार्यक्रम सार्वजानिक गरेको छ । धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोला किनारमा हरित सडक निर्माण कार्यलाई आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रममा प्राथामिकतामा राखिएको छ । “समृद्ध भीरकोटको आधार कृषि पर्यटन आँधीखोलाको उपहार” भन्ने नाराका साथ अगाडि बढेको भीरकोटले एक वडा एक रणनितिक सडक, उज्यालो भीरकोट अभियान, खानेपानी, सिँचाई, रोजगारीलाई प्राथामिकतामा राखिएको छ ।




२०७७/७८ मा बालमैत्री घोषित भएको भीरकोटले कार्यान्वयन पक्षलाई कडाईका साथ लागू गर्ने निति कार्यक्रममा उल्लेख छ । त्यस्तै आँधीखोला नियन्त्रण, सूचना तथा प्रविधिको विकास, पर्यटन प्रर्वद्धन, एक वडा एक जेष्ठ नागरिक सेवा केन्द्र, मेयरसंग बालबालिका कार्यक्रम, सिप विकास, बालकोषको स्थापना, स्थानीय पाठ्यक्रम निर्माण, सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरको अभिवृद्धि गर्ने, क्षमता विकास, विद्यालयमा निशुल्क सेनेटरी प्याड वितरण, विपन्न वर्गको लागी निशुल्क स्वास्थ्य विमा कार्यक्रम, एक वडा एक खेलमैदान निर्माण गर्ने निति कार्यक्रममा उल्लेख छ ।
त्यस्तै जेष्ठ नागरिकको सम्मानमा अभिप्रेरित गर्न उत्कृष्ठ छोराबुहारी सम्मान, महिला उद्यमशीलता, बाँझो जग्गाको उपयोग, सामुहिक चक्लाबन्दी खेति प्रणालीको विकास, एक वडा एक उत्पादन, मौरी ब्लक कार्यक्रम,होमिस्टेको प्रर्वद्धन, आँधीखोलामा जलयात्रा जस्ता कार्यक्रमहरु समेत निति कार्यक्रमले समेटेको छ । औद्योगिक ग्राम स्थापना, छाङछाङ्दी, स्वरेक मैदानको पुर्वाधार विकास, एकुवार, खिलुङ कालिका पदमार्ग, विपत प्रतिकार्य योजना, सुन्दरचौरमा बोटानिकल पार्कको निर्माण, करदाता प्रोत्साहन, डिजिटल प्रोफाईल निर्माण, विद्युतिय नागरिक बडापत्र, हरेक वडालाई प्रविधिमैतत्री बनाईने समेत निति कार्यक्रममा उल्लेख छ ।




कार्यक्रममा नगरप्रमुख छायाराम खनालले भीरकोट नगरले सविधा सम्पन्न आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न गरि सेवा प्रवाह गरेको भन्दै फोहोरमैला संकलन केन्द्र, नदिजन्य निर्माण सामाग्री प्रशोधन केन्द्र समेत निर्माण गरेको बताउनुभयो । साथै उहाँले नगरका हरेक कार्यक्रम नागरिक मैत्रि हुने भन्दै भीरकोटको विकासका लागी बजेट केन्द्रित रहेको बताउनुभयो ।


कार्यक्रममा उपप्रमुख सिमा केसीकर्माचार्यले भीरकोटले सञ्चालन गरेको आधारभुत विद्यालयमा दिवा खाजा, गर्भवतीलाई निशुल्क अण्डा वितरण कार्यक्रम प्रभावकारी देखिएको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषालले भीरकोटमा रहेको साहसिक प्याराग्लाईडिङ खेलको विकासलगायत यहाँ दीर्घकालिन विकासका सूचकहरु रहेको बताउनुभयो । भीरकोटले भोली आठौँ नगरसभा मार्फत ६८ करोडको बजेट प्रस्तुत गर्ने नगरप्रवक्ता दिपेन्द्र केसीले जानकारी दिनुभयो ।