गण्डकीमा जनआन्दोलनका घाइते र सहिद परिवारलाई निशुल्क उपचार

भदौ १७, २०७८


भाद्र १७, भीरकोट खबर डेस्क,

गण्डकी प्रदेश सरकारले जनयुद्ध र जनआन्दोलनका घाइते, अपाङ्ग र सहिद परिवारको नि:शुल्क उपचार गर्ने भएको छ ।गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काका अनुसार प्रदेशका सबै सरकारी अस्पतालबाट जनयुद्ध र जनआन्दोलनका घाइते, अपाङ्ग र सहिद परिवारको नि:शुल्क उपचारको व्यवस्था मिलाइएको हो । प्रदेश सरकारको निर्णय अनुसार उनीहरूको सामान्य उपचारका लागि सरकारी अस्पतालहरुलाई बजेटको व्यवस्था मिलाइएको छ। प्रदेश मन्त्रिपरिषदको भदौ १३ गते बसेको बैठकले जनयुद्ध र जनआन्दोलनका घाइते, अपाङ्ग, बेपत्ता र शहिद परिवारको नि:शुल्क उपचार गर्न जिल्ला अस्पतालहरुलाई तत्काल बजेट पठाउने निर्णय गरेको छ । जनयुद्ध र जनआन्दोलनका घाइतेको उपचार गर्न आवश्यकता अनुसार जिल्ला अस्पतालहरूलाई बजेट विनियोजन गरिने बताइएको छ । यो जनमुखी कार्यक्रमको परिणाममुखी कार्यान्वयन गर्न प्रदेश सरकारले कार्यविधी निर्माण गरि सम्बन्धित सबैलाई परिचय पत्र वितरण गर्ने र सोही परिचय पत्रका आधारमा उपचार गरिने बताइएको छ । प्रदेश सरकारले गत साउन ४ गते नै जनयुद्ध र जनआन्दोलनका घाइतेको उपचार गर्न अवधारणा पत्र ल्याएको थियो ।