भीरकोट नगर स्तरीय कर्मचारी युनियन गठन

असोज ०२, २०७८


आश्विन ०१, भीरकोट खबर डेस्क,

भीरकोट नगरपालिकामा कार्यरत कर्मचारीहरूले आफ्नो पेशागत हक हितका लागि निजामती कर्मचारी युनियन गठन गरेका छ्न्।भीरकोट नगरपालिकाका अधिकृत रामप्रसाद खनालको अध्यक्षतामा १३ सदस्यीय नगर कार्यसमिति गठन भएको हो।स्याङ्जा जिल्ला कार्यसमितिका उपाध्यक्ष नारायण बन्धु अर्यालको अध्यक्षता र जिल्ला कार्यसमितिका अध्यक्ष ज्ञानप्रसाद अर्यालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको संचालन नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समितिका उपाध्यक्ष भेष बहादुर रानाले गर्नुभएको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै कर्मचारी युनियन जिल्ला कार्य समितिका अध्यक्ष ज्ञान प्रसाद अर्यालले लामो प्रयास पछि आज समिति गठन गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै पेशागत हक हितका लागि सबै क्रमचारी सशक्त भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो।तहगत जिम्मेवारी जे सुकै भए पनि इमानदारीताका साथ काम गर्नु सबै कर्मचारीको कर्तव्य भएको प्रष्ट पार्दै उहाँले निर्वाचित सम्पूर्ण कर्मचारीहरूलाई बधाई र सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै योजना शाखाका अधिकृत याम प्रसाद रेग्मीले आफ्नो हक हितका लागि एकबद्ध भएर लाग्नुपर्ने बताउनुभएको थियो ।नव निर्वाचित अध्यक्ष रामप्रसाद खनालले कर्मचारी साथीहरूले आफूलाई दिएको जिम्मेवारी सहर्ष स्विकार गर्दै पेशागत हक हितको लागि आफ्नो क्षमताले भ्याएसम्म काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।समिति गठनमा महत्वपूर्ण भूमिका खेल्नु हुने जिल्ला कार्य समितिका अध्यक्षलाई धन्यवाद दिंदै उहाँले आफूलाई जिम्मेवारी प्रदान गर्ने सहभागी कर्मचारी साथीहरू प्रती आभार व्यक्त गर्नुभएको थियो। कार्यक्रमका अध्यक्ष एवं जिल्ला उपाध्यक्ष नारायण बन्धु अर्यालले कर्मचारी युनियन कर्मचारीको पेशागत हकहित संरक्षण गर्नका लागि गठित विशुद्ध Common Bargaining Agent भएको प्रष्ट पार्दै कसैको दवाव र प्रभावमा नपरीकन कर्मचारीहरूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभएको थियो। भीरकोट नगरपालिकामा कार्यरत सबै सेवा र तहमा कार्यरत कर्मचारी यसमा आवद्ध हुन सक्ने बताउँदै उहाँले कर्मचारी युनियन नेपाली कांग्रेसको भातृसंगठन नभै शुभेच्छुक संस्था भएको कुरामा जोड दिनुभएको थियो।