भीरकोटमा मनाइयो निजामती सेवा दिवस

भदौ २२, २०७८


भाद्र २२, भीरकोट खबर डेस्क,

भीरकोट नगरपालिकामा कार्यरत कर्मचारीहरुले विविध कार्यक्रमहरू गरी निजामती सेवा दिवस मनाएका छन् । निजामती सेवा दिवसको अवसरमा उनीहरूले भीरकोट पार्कको सरसफाइ, फूल विरूवाको गोडमेल तथा चाँप, खयर, बेल, मौरी फूल, गुलमोहर र विभिन्न प्रकारका फूलहरू रोपेका हुन्। नगर कार्यपालिकाको आयोजना र प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा वडा नं २ का वडाअध्यक्ष कमल त्रिपाठी प्रमुख अतिथी हुनुहुन्थ्यो । व्यावसायिक र सिर्जनशील प्रशासन: विकास समृद्धि र सुशासन भन्ने मुल नाराका साथ मनाइएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी त्रिपाठीले जनप्रतिनिधि र कर्मचारीबिच नङ र मासुको जस्तै अन्योन्याश्रित सम्बन्ध हुने भएकाले नारामा भनिएझैँ भीरकोटको विकास,समृद्धि र सुशासनको लागि कर्मचारी र जनप्रतिनिधिहरू सिर्जनशील र जनउत्तरदायी भएर पेशागत जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएको थियो । नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद कोइरालाले भीरकोटको विकास र समृद्धिका लागि सबै कर्मचारी साथीहरूलाई आफ्नो जिम्मेवारी सतप्रतिशत पूरा गर्न आग्रह गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत भुसालले कार्यक्रममा सहभागी सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिँदै कर्मचारीहरूले आफ्नो पदीय जिम्मेवारी निष्ठापूर्वक पूरा गर्दै आफू कार्यरत क्षेत्र र समग्र देश विकास, समृद्धि र सुशासनको लागि खट्नुपर्ने बताउनुभएको थियो । हरेक वर्ष जस्तै यस वर्ष पनि भदौ २२ गतेको दिन भीरकोटमा हर्षउल्लासका साथ निजामती कर्मचारी दिवस मनाइएको छ ।