भीरकोटमा बन्यो सिटी हल

फागुन २३, २०७८


२३ फागुन २०७८

शहरी विकास मन्त्रालयको लगानीमा बालमैत्री नगरपालिका भीरकोटमा सुविधा सम्पन्न सिटी हल निर्माण सम्पन्न भएको छ।करिब ३ सय जना व्यक्तिहरू अटाउने क्षमता रहेको उक्त सिटीहल नगरपालिकाको वडा नं २ स्थित दहथुम प्रहरी चौकी र भुपु सैनिक एकेडेमीको बिचमा रहेको छ। भ्याट र कन्टिन्जेसी बाहेक ३ करोड ६२ लाख ७२ हजार ९ सय अन्ठानब्बे रूपैयाँको लागतमा बनेको सिटि हलमा एउटा अपांग मैत्री शौचालय सहित ६ वटा सुविधा सम्पन्न शौचालयहरू रहेका छ्न्।

प्रशासन कक्ष, गार्ड हाउस,स्टोर रूम सहितको सिटिहलको छाना रंगिन जस्ता पाताले छाइएको छ। कम्पाउण्डिङ र तारबार समेत गरिएको सिटी हलमा विद्युतीय वाएरिङ पनि गरिसकिएको छ। शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीको मातहतमा निर्माण सम्पन्न भएको सिटीहल बालमैत्री दिवस अवसर पारेर भीरकोट नगरपालिकालाई हस्तान्तरण गरिएको थियोे । नगरपालिकाले यहि फागुन २२ गते पहिलो बालमैत्री दिवसको कार्यक्रम गरी सिटीहललाई औपचारिक रूपमा प्रयोगमा ल्याएको छ। ७६ साल मंसिर १५ गते सम्झौता भई यहि आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गर्नुपर्नेमा माघ मसान्तमै निर्माण सम्पन्न भएको आयोजना प्रमुख इन्जिनियर सुरोज पौडेलले जानकारी दिनुभयो।