स्मार्ट अखबार संवाददाता
१४ साउन २०७९

रवि लामिछानेको नेतृत्वमा हालै मात्र गठित राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सङ्गठन विस्तार गर्ने क्रममा आज स्याङ्जा जिल्लामा पार्टी कार्यालय उद्घाटन गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश सभापति डा.ढाकाकुमार श्रेष्ठले शनिबार एक कार्यक्रमका बिचमा स्याङ्जा बैङ्क रोडस्थित मुक्तिनाथ होटलको माथिल्लो तलामा पार्टी कार्यालयको उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै श्रेष्ठले स्वतन्त्र पार्टी उचित समयमा उचित निर्णयका साथ जनताका बिचमा आएको बताउनुभयो । उहाँले पुराना पार्टीमा जहिले पनि शेरबहादुर, प्रचण्ड, केपी ओली वा यस्तै केही मानिसमात्र प्रधानमन्त्री हुने प्रवृत्तिको कहिल्यै अन्त नहुने र ती पार्टीबाट जनताले चाहेको परिवर्तन पनि नहुने भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले त दुःख पायौं पायौं, अब हाम्रा बच्चाले दुःख पाउनु हुँदैन । बोल्नुभन्दा पनि काम गर्ने कुरामा हामीले जोड दिन्छौं ।’ पेसाले मेडिकल डाक्टर समेत रहेका श्रेष्ठले भन्नुभयो, ‘आफ्नो पार्टीले गण्डकी प्रदेशमा दुई तिहाइ बहुमत ल्यायो भने गण्डकीका कुनै पनि नागरिकले स्वास्थ्योपचारका लागि आफ्नो पैसा खर्च गर्नुपर्दैन । म चिकित्सकको नाताले सम्पूर्ण गण्डकी प्रदेशका नागरिकलाई निशुल्क स्वास्थ्योपचारको ग्यारेन्टी गर्छु । यसप्रकारको भिजन र प्लान मसँग छ ।’

उहाँले किसान र मजदुरले जहाँसुकै छिटो सेवा सुविधा पाउने व्यवस्था मिलाउने, छोरीलाई प्राथमितामा राख्ने, जन्मनेबित्तिकै छोरीलाई खातामा पैसा जम्मा गरिदिने, निशुल्क बिमाको व्यवस्था गर्ने योजना आफ्नो पार्टीले बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले डाक्टरका रुपमा आफूलाई चल्ने पैसा कमाएकै थिएँ । पैसाकै लागि म यस पार्टीमा आएको होइन । बरु केही परिवर्तन गरौं भन्ने भावनाले प्रेरित भएर जागिर छोडेर आएको छु ।’

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति डिल्लीराम कोइरालाले अब समाज परिवर्तको बेला भएकाले पुराना कुरा बिर्सेर सबै नागरिक एक हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सो पार्टीका गण्डकी प्रदेश समिति सदस्य रुक्माङ्गत भण्डारी, प्रदेश समिति सदस्य बोधराज रेग्मी, शितला थापा, युवराज पौडेल, सविता शर्मा र श्याम सुनार तथा जिल्ला सचिव गणेश पोख्रेल लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन प्रदेश समिति सदस्य बोधराज रेग्मीले गर्नुभएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here