सवारी चालक अनुमतिपत्रको नतिजा फेरबदल गर्ने कर्मचारीहरू विरूद्ध मुद्दा दायर
४ चैत्र २०७८
यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जना कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा फेरबदल गरेको आरोप लगाउँदै उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
अख्तियारले तत्कालीन यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्की पोखरामा कार्यरत निमित्त कार्यालय प्रमुख शाखा अधिकृत पौडेल, शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृतस्तर आठौं भरतराज काफ्ले, अधिकृतस्तर सातौं प्रेमप्रसाद श्रेष्ठ, अधिकृतस्तर छैठौं डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैठौं होमनाथ शर्मा, कम्प्युटर अपरेटर (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी र अधिकृतस्तर आठौं भरतमणि बरालविरुद्ध आरोप पत्र दायर गरेको छ ।
उहाँहरूले २०७५ मंसिर र २०७६ साउनदेखि मंसिर महिनामा सञ्चालन गरिएका सवारी चालक अनुमतिपत्रको परीक्षामा १६६ जना अनुत्तीर्ण तथा अनुपस्थित परीक्षार्थीहरूलाई उत्तीर्ण गराएको र उत्तीर्ण भएका २ जना परीक्षार्थीहरूलाई अनुत्तीर्ण गराई प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको अख्तियारको आरोप छ ।
नतिजा फेरबदलको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर भएकोले सोही दफा बमोजिमको अधिकतम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।