नेकपा एमाले स्याङ्जाको वृहत् कार्यकर्ता भेला सम्पन्न

भदौ ३०, २०७८


भदौ ३०, भीरकोट खबर डेस्क,

नेकपा (एमाले) स्याङ्जाले जिल्ला सदरमुकाममा वृहत् कार्यकर्ता भेला सम्पन्न गरेको छ।पार्टी विभाजनपछि जिल्लामा आयोजना गरिएको भेलामा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्य मन्त्री  पृथ्वीसुब्बा गुरुङ र प्रचार विभाग प्रमुख योगेश भट्टराईले सम्बोधन गर्नुभएको थियो।

जिल्ला र केन्द्रका करिव १००० नेता कार्यकर्ताको उपस्थितिमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि  पृथ्वीसुब्बा गुरुङले पार्टी एक ढिक्का बनाएर अगाडि बढाउन जिल्ला नेतृत्वलाई आग्रह गर्नुभएको थियो।एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाललाई लक्षित गर्दै उहाँले फुटेर जानेहरूको इतिहास कहिल्यै सुखद् नभएको टिप्पणी गर्नुभएको थियो।

पार्टीका समस्या पार्टी भित्रै हल गर्नुपर्नेमा निहित स्वार्थ राखेर पार्टी फुटाएकोमा असन्तुष्टि व्यक्त गर्दै कम्युनिस्ट पार्टीहरू एक भएर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो।कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता  योगेश भट्टराईले पार्टी सशक्तीकरण गर्दै गतिशील बनाउन युवा नेताहरूहरू सक्रिय हुनुपर्नेमा जोड दिनुभएको थियो।

कार्यक्रममा नेकपा एमाले पोलिट्ब्युरो सदस्यद्वय जगत विश्वकर्मा र खगराज अधिकारी,केन्द्रीय सदस्य तथा पूर्व मन्त्री पदमा कुमारी अर्याल,केन्द्रीय सदस्य सीता सुन्दास लगायतको उपस्थिति रहेको नेकपा भीरकोटका अध्यक्ष विश्वनाथ अर्यालले जानकारी दिनुभयो। यस अगाडि नेपाल पक्षमा देखिएका शोभित ढकाल, सन्तोष केसी लगायतका जिल्लाका नेताहरू समेत उक्त कार्यक्रममा सहभागी हुनुभएको थियो।नेपाल पक्षमा खुलेर लागेका गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारी पनि नेकपा एमालेमै फर्किएको पार्टी स्रोतले जानकारी दिएको छ।जिल्ला भेला संगै नेकपा एसको प्रभाव कमजोर बनेको र केही सिमित नेता कार्यकर्ताहरू मात्रै नेपाल पक्षमा रहेको प्रष्ट भएको छ।