सिरुबारी होमस्टेकी अभियन्ता गुरूङ्द्वारा उम्मेदवारी दर्ता

भदौ १५, २०७९


स्मार्ट अखबार संवाददाता, स्याङ्जा
१५ भाद्र २०७९

सिरुबारी होमस्टेकी अभियन्ता एवं नेपाली काङ्ग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य उर्मिला गुरुङले मंसिर ४ को चुनावमा युवा, महिला र जनजातिको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेश सभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवारी दर्ता गर्नुभएको छ ।

स्याङ्जा क्षेत्र नं १ ख बाट उहाँले समानुपातिक सांसदका रूपमा उम्मेदवारी दर्ता गर्दै उहाँले भन्नुभयो, ‘नेपाली काङग्रेस युवा, महिला, दलित, जनजाति सबैको पार्टी हो । पार्टीले क्षमता भएका युवा महिलाहरूलाई अगाडि सार्दा काङ्ग्रेस बलियो हुने भएकाले त्यसका पक्षमा मेरो उम्मेदवारी हो ।’ उहाँले थप भन्नुभयो, ‘स्वर्गीय क्याप्टेन रूद्रमान गुरूङका अधुरा सपना पूरा गर्ने जिम्मेवारी मेरो काँधमा रहेकाले पनि म राजनीतिमा अगाडि बढेकी हुँ ।’

गुरूङ पार्टीको गत १४ औँ अधिवेशनमा क्षेत्रीय प्रतिनिधिका रुपमा स्याङ्जा क्षेत्र नं १ ख बाट जिल्लामै सबैभन्दा बढी मत ल्याएर विजयी हुनुभएको थियो भने गण्डकी प्रदेश सदस्यमा महिला जनजातिबाट सबैभन्दा बढी मत पाउनुभएको थियो । देशभरिका होमस्टेहरुको सङ्गठन होमस्टे एसोसिएसन अफ नेपाल (होसान) की केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्छ ।

उहाँ गुरूङ संस्कृति संरक्षणका क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ । उहाँ आफ्ना ससुरा रूद्रमानले सुरू गरेको दक्षिण एसियाकै पहिलो होमस्टे सिरूबारी होमस्टे सङ्कटमा पर्दै गएपछि उहाँ सहरका सबै सुखसुविधा छाडेर गाउँमा बस्दै होमस्टे संरक्षण र विकासका साथै सामाजिक सेवामा सक्रिय हुनुभएको छ ।

उहाँ आएपछि अस्ताउन लागेको सिरूबारी होमस्टेले पुनर्जिवन पाएको छ । उहाँकै कारण अहिले सहरबजारका थुप्रै युवा जोडी गाउँ फर्केर होमस्टे व्यवसाय सम्हाल्न थालेका छन् भने कतिपय विदेशबाट पनि फर्केका छन् । उहाँले युवाहरूलाई गाउँमै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाइरहनु भएको छ । होमस्टेका आन्तरिक सुधार र बाह्य भौतिक संरचनाको सुधार गरि कमजोर भइसकेको होमस्टेलाई जगाउन सफल हुनुभएको छ ।



उहाँले भन्नुभयो, ‘मैले चाहेको भए म पोखरा, काठमाडौं बस्न सक्थें। बाहिरी देश जान सक्थेँ । तर मलाई सिरूबारी गाउँको युवा पलायनले चिन्तित बनायो । ससुराले सधै बुहारी तिमी गाउँमा बस्नुपर्छ भन्नुहुन्थ्यो । यही कुराले मलाई छोयो ।’

उहाँकै नेतृत्वमा सिरूबारीको शिरमा भव्य बुद्ध मूर्ति निर्माणको काम भईरहेको छ, जुन मूर्तिलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेलले एक भव्य कार्यक्रमका बिचमा शिलान्यास गर्नुभएको थियो । उहाँ प्रखर वक्ता तथा कुशल कार्यक्रम सञ्चालिका समेत हुनुहुन्छ । बिग्रन थालेको होमस्टेलाई छोटो समयमा सुधारेपछि अहिले उहाँको चर्चा भइरहेको छ ।

कुमारवर्ती बहुमुखी क्याम्पस नवलपुरमा पढ्दादेखि नै नेबिसङ्घको राजनीति गरेकी उर्मिलालाई राजनैतिक संस्कार सिकाउने गुरु भने उहाँकै ससुरा पूर्व सांसद क्याप्टेन रूद्रमान गुरूङ हुनुहुन्छ । ससुराबाट निकै प्रभावित उर्मिला ससुराले धानेको राजनैतिक विरासत कमजोर भएकोमा निकै चिन्तित हुनुहुन्छ । उहाँ गाउँमा आएपछि एकातिर होमस्टेको नेतृत्व गरिरहनुभएको छ भने अर्कोतिर निकै कमजोर बनिरहेको पञ्चमूल काङ्ग्रेसको सङ्गठनलाई चलायमान बनाइरहनुभएको छ ।

गत स्थानीय निर्वाचनमा उहाँको सक्रियता देखेर काङ्ग्रेस नेताहरू नै अचम्ममा पर्थे । उहाँ दिनभरि पार्टीका काममा खटिनुहुन्थ्यो भने साँझपरेपछि बुढाबुढीलाई मतदान गर्ने तरिका सिकाउँदै रातिसम्म बस्तीहरूमा खटिनुहुन्थ्यो ।

चुनाव सकिएपछि पनि उहाँ चुप्प लागेर बस्नुभएको छैन । उहाँले नागरिकता र मतदाता परिचयपत्र नभएका दर्जनौं युवायुवतीको नागरिकता र मतदाता परिचयपत्र बनाउने काममा सक्रियतापूर्वक हप्तौं खटिएको वडा नं १ का काङ्ग्रेस सभापति नरबहादुर जिटीले बताउनुभयो ।

गण्डकी प्रदेशसभाको सदस्य भएमा स्याङ्जा र समग्र गण्डकी प्रदेशको पर्यटन र कृषिका क्षेत्रमा काम गर्न चाहेको गुरूङको भनाइ छ । उहाँले भन्नुभयो, ‘पर्यटनको दृष्टिले गण्डकी धनी छ । पर्यटनको संस्थागत विकास गरी हामीले लाखौं पर्यटक बर्सेनि भित्र्याउन सक्छौं ।’