गठबन्धन रहर होइन, बाध्यता :  सभापति देउवा

माघ १०, २०८०


राम बहादुर रोकाहा,स्याङ्जा 

१० माघ २०८०, बुधबार 

नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले कुनैपनि पार्टीको एकल बहुमत नआउने भएकाले नै गठबन्धन गर्न बाध्यता रहेको बताएका छन्।स्याङ्जाको पुतलीबजारमा नेपाली काङ्ग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले नेपालको संविधान अनुसार कुनैपनि पार्टीको एकल बहुमत नआउने भएकाले नै गठबन्धन गर्न बाध्यता रहेको  प्रष्टयाएका थिए। उनले काँग्रेसले रहरले भन्दा पनि परिस्थितिका कारण गठबन्धन गरिएको दाबी गरेका थिए।

उनले संविधानमा समानुपातिक समावेशी सिद्धान्त लागू हुँदै गएकाले पनि पार्टीको एकल बहुमत आउन सक्ने अवस्था नरहेको हुँदा बहुमत पुर्‍याउन कुनै न कुनै पार्टीसङ्ग गठबन्धन गर्न बाध्यता भएको दोहोर्‍याए । अहिले नेकपा माओवादी केन्द्र लगायत अन्य पार्टीहरुसङ्ग नेपाली काङ्ग्रेसले गठबन्धन गरेको उनको भनाई थियो ।

सभापति देउवाले आफुले स्याङ्जामा पाइला टेक्दा नेपाली काङ्ग्रेसको इतिहासमा नै यो ठाउँ क्रान्तिकारी ठाउँ भएको स्मरण गरेका थिए। उनले स्याङ्जा जिल्लालाई थप बलियो बनाउन नेता तथा कार्यकर्ताहरुलाई सोही कार्यक्रममा निर्देशन दिएका थिए ।

जनताले चाहेको जस्तो नभएतापनि नेपालमा बहुदलीय व्यवस्था आएपछि विकासमा देशले धेरै परिवर्तन पाएकोमा उनको दाबी थियो । उनले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रमा विकास भएको  देशमा भएको प्रजातान्त्रिक व्यवस्था र विकासको जग काँग्रेसले राखेको दाबी गरे।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

सम्मेलनमा सभापति देउवाले सत्ता विना विकास नभएकाले  नेता तथा कार्यकर्तालाई जनतामा गएर संगठनको हितमा काम गर्न र   एकतावद्ध भएर अगाडि बढ्न निर्देशन दिएका थिए।

बिज्ञापन

सम्मेलनमा नेपाली कांग्रेसका उपसभापति तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले देशको विकासका लागि कांग्रेस एकजुट हुनु पर्ने कुरामा जोड दिएका थिए।उनले जिल्लाको समग्र विकासका लागि  सिद्धार्थ राजमार्गको स्तरोन्नति  र आँधीखोला हाईड्यामको निर्माण अत्यावश्यक रहेकाले आफू त्यसैका लागि लागिपरेको दाबी गरे।