राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

असोज २५, २०७९


स्मार्ट अखबार संवाददाता
२५ असोज २०७९

विज्ञापन
विज्ञापन
बिज्ञापन

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत स्याङ्जाको वालिङमा संचालन हुने महिला फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। यही असोज २८ देखि कार्तिक ३ गतेसम्म वालिङ नगरपालिका वडा नं ८ स्थित मालेबगर खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति स्याङ्जाका अध्यक्ष गिरीबहादुर गुरुङ (मोहन)ले जानकारी दिनुभयो।

आयोजक राष्ट्रिय खेलकुद परिषदका अनुसार समय अपुग हुने भएकाले प्रतियोगिताको औपचारिक उद्घाटन २८ गते गरिने भएपनि यस अन्तर्गतको महिला क्रिकेट पोखरामा सञ्चालन भैसकेको छ । यसैगरी महिला फुटबल पनि एकदिन अघि असोज २७ गतेबाट सञ्चालन हुने भएको छ ।

असोज २७ गते बिहीबारबाट प्रतियोगिता सुरु हुने भएपछि २६ गते बुधबारसम्ममा सबै खेलाडीहरु वालिङ आईसक्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार वालिङ आउने अफिसियल, प्रशिक्षक, खेलाडी सबैलाई होटल व्यवसायीहरूसँगको समन्वयमा आवासको व्यवस्थापन मिलाईएको छ ।

वालिङमा रहेको खेलमैदानलाई जिल्ला समन्वय समितिको पहलमा वालिङ नगरपालिकासहित जिल्लाका एघार वटै पालिकाहरूको सहयोगमा दुबो लगाइएको छ । प्रतियोगिताका लागि अहिले खेलमैदान ब्यवस्थित गर्ने, तारबार गर्ने, झण्डाहरू राख्ने लगायतका काम गरिएको छ ।