नमूना कृषि फर्मको सम्झौता रद्ध

जेठ २०, २०७९


नारायण प्रसाद काेइराला
२०७९ जेठ २० 

भीरकोट नगरकार्यपालिकाले नगरपालिकाले स्थापना गरेको नमूना कृषि फर्मको जग्गा भाडा सम्झौता रद्ध गर्ने निर्णय गरेको छ । वडा नं. ६ को आँधीखाल्टामा कृषकहरुको ४० रोपनी जग्गा भाडामा लिएर संचालनमा ल्याइएको नमूना कृषि फर्मबाट अपेक्षित उपलब्धी हाँसिल हुन नसकेको निष्कर्षमा पुग्दै नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो कार्यपालिका बैठक एवम् भीरकोट नगर कार्यपालिकाको ८७ औं बैठकले सम्झौता रद्ध गर्ने निर्णय गरेको हो ।

२०७७ पुस २१ बसेको कार्यपालिका बैठकको निर्णय अनुसार नगरपालिका र जग्गा धनीबिच सम्झौता गरी प्रति रोपनी रु. १७ हजार ४५ का दरले पाँच वर्षको लागि जग्गा भाडामा लिइएको थियो। सम्झौता रद्ध गरेको नगरपालिकाले कृषकहरुलाई २०७९ कार्तिकसम्मको जग्गा भाडा उपलब्ध गराउने निर्णय समेत गरेको छ। यद्यपी उक्त जग्गा प्रयोग गरी खेती बाली लगाउन चाहने सम्बन्धित जग्गाधनीले नगरपालिकामा सम्पर्क गरी तत्काल खेतीबाली लगाउन सक्ने नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिनुभयो ।



उक्त जग्गामा मौसमी कृषिबाली, मौसमी बेमौसमी तरकारी तथा ड्रागन फ्रुटको समेत खेती गरिएको थियो । जालीले तारबार गरिएको उक्त जग्गामा २ ओटा कृषि टनेल समेत रहेका छन् । हाल उक्त क्षेत्रमा अधिकांश जमिन बाँझो रहेको छ । स्रोत र साधनको सही व्यवस्थापन गरी अपेक्षित प्रतिफल लिन नसकेपछि सम्झौता रद्ध गरिएको जानकारहरु बताउँछन् । उन्नत जातको बीउ बिजनसमेत उत्पादन गर्दै प्रयोगात्मक कृषि पाठशाला बनाउने उद्देश्यले स्थापना गरिएको भएतापनि अपेक्षित प्रतिफल प्राप्‍त नभएपछि उक्त स्थानमा गरिएको लगानी बालुवामा पानी भएको छ ।

निवर्तमान स्थानीय सरकारका जनप्रतिनिधिहरूले नमूना कृषि फर्मलाई आफ्नो उपलब्धीको रुपमा चर्चा गरेपनि वर्तमान सरकारले लगानी अनुसारको प्रतिफल प्राप्त नभएको भन्दै सम्झौता रद्ध गरेको हो । निवर्तमान नगरप्रमुख छायाराम खनालको नेतृत्वको स्थानीय सरकारले एकिकृत कृषि विकास कार्यक्रमको लागि नेपाल सरकारको विशेष अनुदान शीर्षकमा आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा प्रदान गरेको २ करोड २५ लाखबाट कृषकहरुलाई मल तथा बीउमा अनुदान, कृषिमा यान्त्रीकरण र नमूना कृषि फर्म निर्माण लगायतका कार्यक्रम संचालन गरेको थियो ।